
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना गरेको आरोपमा परेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ। आइतबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले यो आदेश जारी गरेको हो।
नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर दायर गरिएको यो मुद्दामा अब साक्षीहरूको बयान लिने प्रक्रिया अघि बढ्नेछ। ३१४ रोपनी १५ आना २ पैसा १ दाम सरकारी जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरेको अभियोग छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजायको माग गरेको छ।
तत्कालीन प्रधानमन्त्रीको हैसियतमा पदको दुरुपयोग गरी सरकारी र सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थका लागि हस्तान्तरण गरेको आरोप अख्तियारले लगाएको छ। यसअघि विशेष अदालतले अख्तियारले नेपालमाथिको अनुसन्धान तामेलीमा राख्ने पुरानो निर्णयको फाइल झिकाउन आदेश दिएको थियो। सो फाइल अदालतमा प्राप्त भएपछि आइतबारका लागि पेसी तोकिएको थियो। अख्तियारले गत जेठ २२ गते यो मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो।

























