
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज (सोमबार) देशको मौसम अस्थिर बनेको छ । हाल यो प्रणाली विशेषगरी नेपालको पश्चिमी भू–भागमा सक्रिय देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावस्वरूप गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहँदै केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ । त्यस्तै, कोशी र मधेश प्रदेशमा आंशिक बदली रहे पनि तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
सोमबार दिनभर तराई भू–भागका केही स्थानमा हुस्सु–कुहिरो लागिरहने सम्भावना छ । हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ । देशका उच्च हिमाली क्षेत्रका १–२ स्थानमा हल्का हिमपात र वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ ।
मंगलबार भने पश्चिमी प्रणालीको प्रभाव अझ धेरै देखिने पूर्वानुमान गरिएको छ। हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।
यसका कारण चिसो उल्लेख्य रूपमा बढ्ने, दैनिक जनजीवन प्रभावित हुने, पर्यटन तथा पदयात्रामा कठिनाइ देखिने, साथै हवाई र सडक यातायातमा समेत असर पर्न सक्ने जनाइएको छ । विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने, पर्यटकीय गतिविधिमा संलग्न हुने र दुर्गम सडक प्रयोग गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

























