पूर्वराजदूत डा. अर्जुन कार्की : कूटनीतिबाट संसदको यात्रा तय गर्न सक्रिय

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार ०८:१५

संखुवासभा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट संखुवासभामा उम्मेदवार बनेका पूर्वराजदूत डा. अर्जुन कार्कीले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

७ बुँदे विकास प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उनी अहिले जिल्लाका विभिन्न गाउँ र टोलमा पुगेर मतदाता एवं कार्यकर्तासँग प्रत्यक्ष भेटघाटमा जुटिरहेका छन् । मतदाता भेटघाट कार्यक्रममा डा. कार्कीले संखुवासभाको समग्र विकासका लागि आफूले स्पष्ट र दीर्घकालीन खाका तयार गरेको बताएका छन् ।

विगतमा कूटनीति, विकास र लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा निर्वाह गरेको भूमिकालगायतको अनुभवलाई अब प्रत्यक्ष रूपमा आफ्नै जन्मथलोको सेवा र विकासमा प्रयोग गर्ने अठोटसहित आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ । उनले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, पूर्वाधार र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेर आफ्नो अभियान अघि बढाइएको जानकारी दिए ।

चुनावी तयारीलाई संस्थागत रूपमा अगाडि बढाउँदै एमाले चैनपुर नगर कमिटीले निर्वाचन केन्द्रित विस्तारित बैठकमार्फत ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरिसकेको छ । जिल्लामा अन्य राजनीतिक दलहरूले पनि शान्तिपूर्ण रूपमा चुनावी गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्दै डा. कार्कीले लोकतान्त्रिक प्रतिस्पर्धालाई सम्मान गर्दै एमालेले आफ्नो संगठनात्मक शक्ति र जनआधारका साथ चुनावी अभियानलाई मजबुत बनाइरहेको बताए ।

संखुवासभामा विगतदेखि कायम रहेको एमालेको राजनीतिक विरासतलाई अझ सुदृढ बनाउने गरी तयारी भइरहेको उनको दाबी छ । ‘समुन्नत संखुवासभा, समृद्ध नेपाल’ नारासहित सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा डा. कार्कीले आफू संखुवासभाकै माटोमा जन्मिएर हुर्किएको भएकाले यहाँको जनजीवन, सम्भावना र समस्यालाई नजिकबाट बुझेको व्यक्ति भएको उल्लेख गरेका छन् ।

देशभित्र र बाहिर विभिन्न जिम्मेवारी सम्हाल्दै अन्तर्राष्ट्रिय तहसम्म पुगे पनि अन्ततः आफ्नै गाउँठाउँ र जिल्लाको विकासका लागि केही गर्ने हुटहुटीले आफूलाई प्रत्यक्ष राजनीतिमा ल्याएको उनको भनाइ छ । संखुवासभावासीको विकास र रूपान्तरणको आकांक्षालाई संघीय संसदमा बुलन्द रूपमा उठाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको आफ्नो सम्पर्क र सञ्जाललाई जिल्लाको हितमा परिचालित गर्ने संकल्प उनको छ ।

संखुवासभामा जन्मेहुर्केका डा. अर्जुनकुमार कार्की नेपालका अनुभवी नेता, कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ताका रूपमा चिनिन्छन् । ३ दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

उनलाई संखुवासभाको गौरवका रूपमा पनि लिइन्छ । नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै डा. कार्कीले नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध विस्तार र राष्ट्रिय हित प्रवर्धनमा महत्वपूर्ण योगदान दिएका छन् ।

साथै, राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा नेपालको दीर्घकालीन विकास नीति, योजना र राष्ट्रिय प्राथमिकता निर्धारण प्रक्रियामा प्रत्यक्ष संलग्न रहँदै उनले देशका विभिन्न जिल्ला र क्षेत्रसँगै आफ्नो जन्मथलो संखुवासभाका मुद्दालाई समेत उठाउँदै आएका छन् । सन् २००६ मा नेपालमा लोकतन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय स्तरमा सक्रिय पैरवी गर्ने प्रमुख व्यक्तित्वहरूमध्येमा पर्ने डा. कार्कीले निरंकुश शासनविरुद्धको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक शासन पुनःस्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपियन युनियनलगायतका बहुपक्षीय मञ्चहरूमा अल्पविकसित तथा विकासशील देशहरूको पक्षमा स्पष्ट र दृढ आवाज उठाउँदै आएका उनी अब संखुवासभाका जनताको विकास र समृद्धिको चाहनालाई नेपालको संघीय संसदमा पुर्‍याउने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

‘म बाँकी जीवन आफू जन्मिएको थलो र मुलुकको विकासका लागि समर्पण गर्न चाहन्छु,’ डा. कार्कीले मतदातासँगको भेटघाटका क्रममा भन्ने गरेका छन् । कूटनीतिबाट संसदको यात्रा तय गर्न उनी सक्रिय भइरहँदा संखुवासभामा नयाँ राजनीतिक अध्याय सुरु भएको रूपमा लिइएको छ । उनको चुनावी अभियान र आगामी यात्रालाई चासोका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.