
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा निर्धक्कसँग लगानी र व्यापारिक अवसरको खोजी गर्न आह्वान गरेका छन्। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजित अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले नेपालमा वैदेशिक लगानीका लागि पूर्ण सुरक्षा, निर्बाध सहजीकरण र मुनाफ फिर्ताका लागि सहज कानुनी प्रक्रियाको व्यवस्था गरिएको बताए। ‘हामीले लगानीमा आकर्षक प्रतिफलका साथै स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ,’ उनले भने, ‘नेपाल सरकार जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न प्रतिबद्ध छ।’ उनले नेपालको कृषि, जलस्रोत र पर्यटन जस्ता क्षेत्रमा लगानी गरेर दुवै देशले फाइदा लिन सक्ने उल्लेख गरे।
गौतम बुद्धको दर्शनले दुई देशलाई आदिकालदेखि सांस्कृतिक रूपमा जोडेको स्मरण गर्दै राष्ट्रपति पौडेलले भने, ‘नेपालमा लगानी गरे धन पनि हुन्छ, धर्म पनि हुन्छ।’ उनले जापान नेपालको एक विश्वसनीय विकास साझेदार रहेको बताउँदै नेपालको सामाजिक-आर्थिक विकासमा दशकौँदेखि गरेको सहयोगको प्रशंसा गरे।
नेपाल यसै वर्षको अन्त्यसम्ममा अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुन लागेको र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको उनले जानकारी दिए। यो लक्ष्य प्राप्तिका लागि ठूलो स्रोत र विदेशी लगानीको आवश्यकता पर्ने भन्दै उनले सूचना प्रविधि, खानी र उत्पादनमुलक उद्योगमा जापानी प्रविधि र पुँजीको अपेक्षा गरे।
नेपाल लगानी बोर्डले ठूला लगानीकर्ताका लागि एकद्वार सेवा प्रदान गरिरहेको र दक्षिण एसियामै नेपाल व्यावसायिक वातावरणका लागि अनुकूल रहेको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले पुष्टि गरेको उनले दाबी गरे। विश्वका दुई ठूला अर्थतन्त्र चीन र भारतको बीचमा हुनु नेपालका लागि व्यापारिक दृष्टिले थप फाइदाजनक रहेको उनको भनाइ थियो।
कार्यक्रममा परराष्ट्र सचिव अमृत राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीका सम्भाव्यताबारे कार्यपत्र प्रस्तुत गरेका थिए। जापानी व्यवसायीहरूले नेपालमा रहेका लगानीका अवसरहरूबारे जानकारी पाउँदा खुसी लागेको र यसले भविष्यमा सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरे।

























