मोरङ-२ मा फेरिएको समीकरण : सुजाता र ऋषिकेश ‘आउट’, मिनेन्द्र र दिलिपसँग नयाँ–पुरानाकाे प्रतिस्पर्धा

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १८:०४

विराटनगर । नेपाली राजनीतिको एउटा ऐतिहासिक किल्ला, जहाँबाट पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले ३ पटक जितेर चुनावी ‘ह्याट्रिक’ गरे ।

मोरङ क्षेत्र नम्बर २ (तत्कालीन क्षेत्र नम्बर १)को यो भूमिमा यसपटकको निर्वाचन दृश्य भने अघिल्ला चुनावभन्दा भिन्न छ । २०७९ को निर्वाचनमा आमनेसामने भएका २ मुख्य पात्र नेकपा (एमाले)का ऋषिकेश पोखरेल र कांग्रेसकी सुजाता कोइराला यसपटक मैदानमा छैनन् । नेपाली कांग्रेसबाट ‘बौद्धिक नेता’ डा. मिनेन्द्र रिजाल मैदानमा छन् । एमालेले रंगेलीका पूर्वमेयर दिलिप बगडियालाई उम्मेदवार बनाएको छ ।

२०७४ सालमा एमालेसँग र २०७९ सालमा कांग्रेससँग गठबन्धन गरेको नेकपा (तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी)ले यो पटक आफ्नै उम्मेदवार चन्द्रवीर राईलाई मैदान उतारेको छ । रास्वपाबाट कृष्ण कार्की चुनावी मैदानमा छन् ।

राष्ट्रिय उर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार छन् । मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधवप्रसाद राजवंशी, जनता समाजवादी पार्टी नेपालबाट विनोदकुमार सिंह गनगाई, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् ।

नरेशकुमार साह, अनिलकुमार साह र बुधु ऋषिदेव स्वतन्त्र उम्मेदवार छन् । क्षेत्रमा कांग्रेस र एमालेका ‘हेभीवेट’ उम्मेदवारलाई अन्य दल तथा स्वतन्त्र उम्मेदवारले पनि कडा चुनौती दिइरहेका छन् ।

कोइराला परिवारको विरासत जोडिएको यो क्षेत्रमा कांग्रेसका लागि साख जोगाउनु मुख्य चुनौती छ । २०७४ मा यही क्षेत्रबाट चुनाव जितेका मिनेन्द्र रिजाल २०७९ मा टिकट नपाएपछि ओझेलमा परेका थिए ।

तर, यो पटक सुजाता कोइरालाले चुनाव लड्न अनिच्छा देखाएपछि कांग्रेसले रिजाललाई नै अघि सारेको हो । गिरिजाप्रसाद कोइरालाको सामीप्यमा रहेर राजनीति गरेका रिजाल अहिले घरदैलोमा व्यस्त छन् । उनको काँधमा कोइराला परिवारको ऐतिहासिक विरासत जोगाउने चुनौती छ ।

एमालेका तर्फबाट यसअघि चुनाव जितेका ऋषिकेश पोखरेल सार्वजनिक लेखा समितिको सभापति हुँदा उनकी पत्नी अञ्जला कोइराला सहकारी विवादमा मुछिएकी थिइन् । पोखरेल यसपटक ‘ब्याक’ भएका छन् । एमालेले उनको स्थानमा रंगेली नगरपालिकाका लोकप्रिय पूर्वमेयर दिलिप बगडियालाई मैदानमा उतारेको हो ।

व्यावसायिक पृष्ठभूमि भएका उद्योगी बगडियाको राजनीतिक यात्रा रोचक छ । कांग्रेसबाट माओवादी हुँदै एमाले प्रवेश गरेका बगडियासँग स्थानीय तह चलाएको अनुभव छ । रंगेलीको मेयरबाट राजीनामा दिएर उनी अहिले एमालेको किल्ला मजबुत बनाउन तल्लीन छन् ।

२०४८ सालदेखि २०५६ सम्म यो क्षेत्र गिरिजाप्रसाद कोइरालाको अविजित किल्ला थियो । २०६४ को माओवादी लहरमा समेत आमोदप्रसाद उपाध्यायले जित निकालेर कांग्रेसको इज्जत जोगाएका थिए । तर, २०७० मा ऋषिकेश पोखरेल पहिलोपटक कांग्रेसको यो किल्ला ढालेर कम्युनिष्ट झण्डा फहराउन सफल भए ।

त्यसयता कांग्रेस र एमालेबीच आलोपालो जितहारको सिलसिला चल्दै आएको छ :
२०७४: मिनेन्द्र रिजाल (कांग्रेस) ३५,८१९ मतका साथ विजयी ।
२०७९: ऋषिकेश पोखरेल (एमाले) ३३,१४८ मतका साथ विजयी, (सुजाता कोइराला ३१,९४० मत) । 

कानेपोखरी गाउँपालिकाका १,२,३, पथरीशनिश्चरे नगरपालिकाका ५ र ६, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९ वडा, रतुवामाई नगरपालिका नगरपालिकाका १० वटै र सुनवर्षी नगरपालिकाका ९ वटै वडा रहेको क्षेत्र नम्बर २ मा १ लाख २९ हजार ६ सय ८४ जना मतदाता छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.