
विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ३ मा चुनावी माहोल तातेको छ । २०७९ को निर्वाचनमा भारी मतान्तरले विजयी भएका कांग्रेसका उम्मेदवार डाक्टर सुनिल शर्मा आफ्नो विरासत जोगाउने दाउमा छन् । एमाले र रास्वपा उनलाई रोक्ने रणनीतिमा छन् ।
नेकपा एमालेले शिक्षक तथा साहित्यकार इरनकुमार राईलाई मैदानमा उतारेको छ । बेलबारीका स्थानीय बासिन्दा राईले जग्गाको दोहोरो स्वामित्वको समस्या समाधान गर्नेलगायत एजेन्डा अघि सारेका छन् ।
नेपाली कांग्रेसबाट दोस्रो पटक उम्मेदवार बनेका सुनिल शर्मा नोबेल मेडिकल कलेज मार्फत स्वास्थ्यमा सहुलियत दिने नारा अघि सारेका छन् । गत निर्वाचनमा एमालेका भानुभक्त ढकाललाई २२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका शर्मालाई यसपटक आफ्ना पुराना भोट जोगाउन चुनौती देखिएको छ ।
रास्वपाबाट गणेश कार्की ‘सिस्टम परिवर्तन’को नारा लिएर चुनावी मैदानमा छन् ।
पथरी शनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका र सुन्दरहरैँचा नगरपालिकाका केही वडाहरू समेटिएको यो क्षेत्रमा उम्मेदवारहरू घरदैलोमा छन् । पथरी र सुन्दरहरैँचाका शहरी क्षेत्रमा रास्वपाको बढ्दो प्रभावले परम्परागत शक्ति सन्तुलनलाई चुनौती दिएको छ ।
२०७९ को समानुपातिक मत परिणाम हेर्दा यहाँ एमाले पहिलो भएको थियो । २७,२७८ मत एमालेले प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले २५,३८४ मत पाएको थियो । रास्वपाले १७,७६१ मत प्राप्त गरेको थियो ।
मोरङ ३ बाट नेपाली कम्युनिष्ट पार्टीबाट डाक्टर देउमान सम्वाहाम्फे, राष्ट्रिय ऊर्जाशील पार्टीबाट भुवनकुमार वाग्ले, नेपाल मजदुर किसान पार्टीका परशुराम विश्वास थारु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डिल्ली बहादुर जबेगू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट खड्गबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेम प्रसाद सुवेदी पनि उम्मेदवार छन् ।
मंगोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई, संयुक्त नागरिक पार्टीका विदुर अधिकारी, श्रम संस्कृति पार्टीका अमिर मगर, जनता समाजवादी पार्टी नेपालका मजेवुल रहमान, आम जनता पार्टीका कमल कुमार राई, जय मातृभूमि पार्टीका नवराज मास्के, उज्यालो नेपाल पार्टीका मित्रसेन योन्जोनले पनि मोरङ ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रमा गणेश मिश्रा र तेज प्रसाद भण्डारी पनि मैदानमा छन्। मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र रास्वपाबीच नै हुने अनुमान छ । क्षेत्र नम्बर ३ मा १ लाख ५८ हजार ८७ मतदाता छन् ।
























