
काठमाडौं । देशका विभिन्न भू–भागमा आज (मंगलबार) मौसममा आंशिक परिवर्तन देखिने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण ६ वटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने अनुमान गरिएको छ ।
तराईका अधिकांश स्थानमा भने आंशिक बदली रहनेछ भने मौसम मुख्यतया सफा नै रहने महाशाखाको भनाइ छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम खालको हिमपात र वर्षा हुन सक्ने सम्भावना छ ।
यसका साथै बाँकी हिमाली भू–भागका थोरै स्थानमा पनि यस्तै खालको मौसम देखिन सक्ने अनुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, बागमती, लुम्बिनी प्रदेशका उच्च पहाडी भू–भागका १–२ स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । राति हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ ।
गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । तराईका भू–भागमा भने राति पनि मौसम प्रायः सफा नै रहनेछ ।
विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा राति पनि मध्यम हिमपात र वर्षाको सम्भावना छ । हाल सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीकै कारण यस्तो मौसम अवस्था देखिन लागेको मौसमविद्हरूले बताएका छन् ।

























