
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीको छानबिनपछि ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गर्दै सूचीबाट हटाएको छ ।
यससँगै आयोगले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली आज (मंगलबार) सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका अनुसार उम्मेदवारविरुद्ध परेका उजुरी, कानुनी योग्यता नपुगेको अवस्था, बन्दसूची दोहोरिएको विषय, मतदाता नामावलीसम्बन्धी कमजोरी तथा राजनीतिक दलहरूले आफैं पठाएको पत्राचारका आधारमा ७६ जनाको नाम हटाउने निर्णय गरिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सम्बन्धित राजनीतिक दलहरूको सिफारिस र कानुनी प्रावधानअनुसार नाम हटाइएको जानकारी दिए । निर्वाचन कार्यतालिकाअनुसार राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिक निर्वाचनका लागि बन्दसूची बुझाएका थिए ।
ती सूचिका आधारमा आयोगले माघ ४ गते उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । त्यसपछि प्राप्त उजुरी र छानबिनको प्रक्रियाबाट अयोग्य ठहर भएका उम्मेदवारलाई हटाउँदै अन्तिम नामावली प्रकाशनको चरणमा आयोग पुगेको हो ।
आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ । यस्तै, प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेर संघीय प्रतिनिधिसभा समानुपातिक सूचीमा दोहोरिएका २५ जनाको नाम पनि हटाइएको छ । आयोगले तोकेको जरिबाना भुक्तान नगरेका १० जना उम्मेदवार अयोग्य ठहरिएका छन् ।
उमेरसम्बन्धी कानुनी प्रावधान पूरा नगरेका ४ जना उम्मेदवारको नाम पनि हटाइएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनका लागि अनिवार्य २५ वर्ष उमेर पूरा नभएको पाइएपछि ती उम्मेदवार अयोग्य घोषित भएका हुन् । यस्तै, महिला उम्मेदवार पेस गर्नुपर्ने कोटामा पुरुष उम्मेदवारको नाम समावेश गरिएको एक जनाको नाम पनि बन्दसूचीबाट हटाइएको छ ।
मतदाता नामावलीसम्बन्धी कमजोरीका कारण पनि केही उम्मेदवार अयोग्य ठहरिएका छन् । मतदाता नामावलीमा नाम नै नरहेको १ जना तथा पिछडिएको क्षेत्रको कोटाबाट पेस गरिए पनि सो क्षेत्रमा नाम नपरेका २ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।
प्रदेशसभाको समानुपातिक बन्दसूचीमा नाम कायम रहेकाले प्रतिनिधिसभा तर्फबाट हटाइएकामध्ये सविना श्रेष्ठ, अनिलकुमार साह, भवानी दमाई, प्राणेदेवी थरुनी, लेखबहादुर मोक्तान र वसन्तकुमार हमाल रहेका छन् । यस्तै, ममता यादव, धनबहादुर गुरुङ, मिनु थापा, दिलकुमारी थापा, दीपेन्द्रबहादुर थापा, सावित्रीदेवी चौधरी, दलबहादुर गुरुङ, जशोदा लिम्बू र शिला लिम्बूलगायतको नाम पनि प्रदेशसभाको बन्दसूचीमै कायम रहेकाले प्रतिनिधिसभा समानुपातिकतर्फबाट हटाइएको हो ।
यसैगरी, विमला स्वाँर र लालुराम जैसीको नाम मतदाता नामावलीमा पिछडिएको क्षेत्रबाट नपरेपछि बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ । श्रम संस्कृति पार्टीले पठाएको पत्रका आधारमा १० जना उम्मेदवारको नाम पार्टीकै अनुरोधमा फिर्ता गरिएको छ । अन्य विविध कारण देखाइएका २ जनाको नाम पनि बन्दसूचीबाट हटाइएको आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले प्रारम्भिक रूपमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २ सय १३ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो । छानबिनपछि ७६ जनाको नाम हटाइएपछि अब समानुपातिकतर्फ ३ हजार १ सय ३७ जना उम्मेदवार कायम भएका छन् । ६३ राजनीतिक दलले एकल तथा संयुक्त गरी ५७ निर्वाचन चिह्नमार्फत समानुपातिक निर्वाचनमा भाग लिएका छन् ।
समानुपातिक निर्वाचनका लागि छापिने मतपत्रमा भने ५८ वटा निर्वाचन चिह्न रहने निश्चित भइसकेको आयोगले जनाएको छ । समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा कुल १ सय १० जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले उम्मेदवार अयोग्य ठहरसम्बन्धी सबै निर्णयको विस्तृत विवरण आफ्नो आधिकारिक ‘वेबसाइटमार्फत सार्वजनिक गरिसकेको जनाएको छ ।
























