बालेनको चुनावी रणनीति : सुदूरपश्चिमसम्म पुग्दा मौन, आफ्नो क्षेत्रमा खुलस्त

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार ११:४२

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को चुनावी अभियानले नयाँ राजनीतिक शैलीको संकेत दिएको छ ।

सुदूरपश्चिम भ्रमणका क्रममा सार्वजनिक रूपमा मौन बसेर फर्किएका बालेन झापा–५ मा भने खुलेर बोलेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापामा उनी सुकुमबासी बस्तीमै पुगेर स्थानीयसँग प्रत्यक्ष संवादमा उत्रिएका हुन् ।

यसअघि सुदूरपश्चिममा ‘घन्टी हल्लाएर मात्रै फर्किएको’ भन्दै आलोचना खेपेका बालेनले झापामा भने आलोचनालाई चिर्दै आफ्ना धारणा स्पष्ट रूपमा राखे । कमल गाउँपालिकाका सुकुमबासी युवाहरूले मंगलबार राखेको मुख्य प्रश्न थियो, ‘चुनाव जितेपछि बस्तीमा डोजर चल्छ कि चल्दैन ?’

यही प्रश्नको जवाफबाट बालेनको चुनावी रणनीति पनि प्रस्ट देखियो । उनले झापाको अवस्था काठमाडौंसँग तुलना गर्न नमिल्ने बताए । ‘काठमाडौंमा डोजर ज्यान जोगाउन चलाइएको हो । यहाँ त्यस्तो हुँदैन,’ भन्दै उनले सुकुमबासीलाई ढुक्क रहन आग्रह गरे ।

उनका अनुसार काठमाडौंमा हटाइएका बस्तीहरू खोलाछेउको सार्वजनिक जग्गामा थिए । जहाँ बर्खायाममा बाढीको उच्च जोखिम रहन्छ । ‘बाढी आउँदा पानी बस्तीभन्दा माथिसम्म पुग्छ । त्यसैले असारमै सुरक्षित ठाउँमा सारिएको हो,’ उनले भने, ‘तर, त्यसलाई गलत न्यारेटिभ बनाएर फैलाइयो ।’

झापाका सुकुमबासीको हकमा भने बालेन अझ स्पष्ट देखिए । खोलाछेउ बाहेकका सुकुमबासीले लालपुर्जा पाउनैपर्ने उनको धारणा छ । भूमि आयोगमार्फत लगत संकलन गरी स्थानीय सरकारको सिफारिसमा केन्द्र सरकारले लालपुर्जा दिनुपर्ने उनको तर्क छ ।

‘यो ४०–५० वर्षदेखिको समस्या हो,’ उनले भने, ‘राजनीतिक पहुँच भएकाले दोहोर्‍याएर लालपुर्जा पाउने, जिन्दगीभर नपाएकाले कहिल्यै नपाउने सिस्टम गलत छ । यो सुधार्नैपर्छ ।’ स्थानीय युवाहरूले बालेनले आफ्ना मुद्दा उठाइदिने विश्वास व्यक्त गरे ।

एक युवाले भने, ‘हामी तयार छौँ । यसपटक घन्टीमै भोट हाल्छौँ ।’ यसले झापामा बालेनप्रतिको समर्थन र भरोसा दुवै देखाएको छ । यद्यपि, सबै प्रश्न भावनात्मक मात्रै थिएनन् ।

खाडीमा २० वर्ष काम गरेर फर्किएका १ जनाले रास्वपाको एजेन्डाबारे स्पष्टता मागे । शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने विषयमा यथार्थ के हो भन्ने जिज्ञासा उनले राखे ।

जवाफमा बालेनले पार्टीको घोषणापत्र अन्तिम चरणमा रहेको जानकारी दिए । ‘सबैलाई सबै विषयको चासो हुँदैन,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी सबै समेटेर फागुनको पहिलो सातामा मेनिफेस्टो सार्वजनिक गर्छौं ।’ क्षेत्रअनुसार प्राथमिकता फरक हुने उनको संकेत थियो ।

शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क गर्न बजेट अभाव रहेको स्वीकार गर्दै उनले काठमाडौंको उदाहरण प्रस्तुत गरे । ‘पैसा नहुने विपन्नले निजी स्कुलमा पनि सीट पाएका छन्,’ उनले भने, ‘सबै कुरा एकैचोटि सम्भव हुँदैन । विस्तारै न्यायोचित प्रणालीतर्फ जानुपर्छ ।’

प्रदेश संरचना खारेज गर्दा खर्च जोगिने सुझावलाई भने बालेनले अस्वीकार गरे । ‘प्रदेशमा अत्यधिक खर्च छैन,’ उनले भने, ‘मन्त्री र सांसदको तलबले देश डुब्दैन ।’

झापाको सुकुमबासी बस्तीमा देखिएको यो दृश्यले बालेनको चुनावी रणनीति प्रस्ट बनाएको छ । सबै ठाउँमा एउटै शैली नअपनाएर सन्दर्भअनुसार मौन बस्ने र खुलस्त हुने उनको राणनीति देखिन्छ । सुदूरपश्चिममा मौन बसेर फर्किएका उनले आफ्नो निर्वाचन क्षेत्रमा स्पष्ट र प्रत्यक्ष संवादमार्फत मतदातालाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.