
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले)का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओलीलाई लक्षित गर्दै अनेक अफवाह फैलाउन थालिएको छ ।
सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीले फेरि एकपटक नेपाली समाज कति सजिलै भ्रमको सिकार बन्छ भन्ने देखाएको छ । ‘म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ’ भन्ने आशयको दाबी राखेर बनाइएका भिडियो, फोटो र स्टाटसहरू फेसबुकलगायत सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेका छन् ।
तर, विस्तृत तथ्य जाँच गर्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो अभिव्यक्ति दिएको कुनै प्रमाण भेटिँदैन । बरु उनको भनाइलाई काटछाँट गरेर, सन्दर्भबाट अलग गरी प्रस्तुत गरिएको स्पष्ट देखिन्छ ।
पछिल्ला केही दिनयता ‘पत्रिका नेपाल’, ‘यात्रा’, ‘टाइम्स अफ नेपाल’, ‘टीखबर’ लगायत नाम गरेका फेसबुक पेजहरूले उस्तै आशयका सामग्री सार्वजनिक गरेका छन् । ती सामग्रीमा ओलीले आफू पराजित भए निर्वाचन परिणाम अस्वीकार गर्ने चेतावनी दिएको दाबी गरिएको छ ।
विशेषगरी ‘पत्रिका नेपाल’ नामक फेसबुक पेजले सार्वजनिक गरेको भिडियो अत्यन्तै भाइरल बनेको छ । जसलाई लाखौँ पटक हेरिएको छ र हजारौँ प्रतिक्रियासहित व्यापक आलोचना र टिप्पणीहरू आएका छन् । यस्तै दाबी अन्य पेजहरूले पनि दोहोर्याएका छन् । जसका कारण सामाजिक सञ्जाल प्रयोगकर्तामाझ ओलीले लोकतान्त्रिक प्रक्रियालाई नै अस्वीकार गर्न खोजेको जस्तो सन्देश प्रवाहित भएको छ ।
अर्कोतर्फ सामाजिक सञ्जाल टिकटकमा पनि ओलीविरुद्ध अनेक हिसाबले भ्रम फैलाउने काम भइरहेको छ । वास्तविकतालाई तोडमोड गरेर गर्दै नगरेको र भन्दै नभनेको विषयलाई सामाजिक सञ्जालमार्फत बाहिर ल्याउने गिरोह नै सक्रिय रहेको एमालेको बुझाइ छ ।
यस्ता पोस्टहरू जनवरी ३१ तारिखदेखि एकाएक बढ्दै गएको थियो । तर, तथ्य जाँच गर्दा ती सबै गलत रहेको पाइएको छ । जनवरी ३१ मा ओलीले ‘आफू वा एमाले पराजित भए निर्वाचन र त्यसको परिणाम अस्वीकार गर्ने’ भन्ने अभिव्यक्ति दिएको पाइएन । तर, सामाजिक सञ्जालमा भने त्यस्तै हिसाबले सामग्री तयार पारेर प्रस्तुत गरिएको छ ।
उक्त दिन ओलीले लोकतान्त्रिक मान्यताअनुसार सरकारको दायित्व स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु हो भन्ने कुरामा जोड दिएका छन् । उनले सरकार तटस्थ नरही कुनै दल वा उम्मेदवारलाई जिताउने उद्देश्यले निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्छ भने मात्र त्यस्तो निर्वाचन र त्यसको परिणाम स्वीकार्य नहुने बताएका छन् ।
यो भनाइलाई उनले सरकारप्रति चेतावनीका रूपमा प्रस्तुत गरेका हुन् । तर, त्यसलाई ओलीले हारेमा चुनाव अस्वीकार गर्ने धम्कीका रूपमा सामाजिक सञ्जालमा प्रस्तुत गरिएको छ । ओलीले सरकारले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउनुपर्ने, कुनै पक्षलाई जिताउने वा हराउने खेलमा लागेमा त्यस्तो निर्वाचनले देशलाई ठूलो अनिष्टतर्फ लैजाने र त्यस्तो अवस्थामा निर्वाचनको परिणाम स्वीकार्य नहुने बताए ।
जसलाई सन्दर्भविहीन रूपमा काटेर प्रस्तुत गर्दा अर्थ नै उल्टिएको देखिन्छ । यही अभिव्यक्तिलाई आधार बनाएर सामाजिक सञ्जालमा फैलाइएका पोस्टहरूले ओलीले लोकतान्त्रिक अभ्यास अस्वीकार गर्न खोजेको झुटो सन्देश दिएका छन् । तथ्य जाँचबाट यो दाबी भ्रामक मात्रै नभएर जानाजान तोडमरोड गरिएको प्रष्ट हुन्छ ।
ओलीको भनाइ सरकारको भूमिकामाथि प्रश्न उठाउने र निर्वाचन प्रक्रियाको शुद्धतामाथि जोड दिने खालको थियो । व्यक्तिगत हारजितसँग जोडिएको थिएन । न त पार्टीकै हारजितको कुरा थियो ।
सामाजिक सञ्जालमा भाइरल सामग्रीहरू हेर्दा एउटा चिन्ताजनक प्रवृत्ति पनि देखिन्छ । अधिकांश पोस्टमा मूल स्रोत, पूर्ण भिडियो वा सन्दर्भ नदिइकन केही सेकेन्डको काटिएको क्लिप, फोटो र उत्तेजक शीर्षक प्रयोग गरिएको छ । यसले प्रयोगकर्तालाई सत्य के हो भन्ने बुझ्ने अवसर नै नदिई भावनात्मक प्रतिक्रिया दिन बाध्य बनाउँछ । कमेन्ट सेक्सनहरू हेर्दा पनि धेरैले पूर्ण तथ्य नबुझीकन ओलीको तीव्र आलोचना गरेका छन् । जसले भ्रम कति छिटो फैलिन्छ भन्ने पुष्टि गर्छ ।
यस घटनाले नेपाली सामाजिक सञ्जालमा तथ्य जाँचको अभाव र जिम्मेवार पत्रकारिताको आवश्यकता खड्किएको देखिन्छ । चुनावी समय नजिकिँदै जाँदा राजनीतिक दल र नेताहरूलाई लक्षित गरेर गलत सूचना फैलाउने प्रयास नयाँ होइन । तर, यसपटक ओलीको अभिव्यक्तिलाई जसरी प्रस्तुत गरिएको छ, त्यो प्रत्यक्ष रूपमा सार्वजनिक मतलाई प्रभावित पार्ने खालको छ ।
‘आफू र एमाले पराजित भए चुनावी परिणाम अस्वीकार गर्ने’ भन्ने ओलीको दाबी पूर्ण रूपमा तथ्यहीन रहेको कुरा तथ्य जाँचको निष्कर्ष छ । ओलीले यस्तो कुरा बोलेका छैनन् । उनले सरकारले निष्पक्षता त्यागेर धाँधलीपूर्ण तरिकाले निर्वाचन गरायो भने मात्र त्यस्तो परिणाम स्वीकार्य हुँदैन भनेका छन् । यही भनाइलाई उल्टो अर्थ लगाएर सामाजिक सञ्जालमा अफवाहको रूपमा फैलाइएको हो ।
लोकतन्त्रमा आलोचना स्वाभाविक हो । तर, आलोचनाको आधार सत्य हुनुपर्छ । गलत सूचना र तोडमरोड गरिएका अभिव्यक्तिले नेताको मात्रै नभएर समग्र राजनीतिक प्रणालीप्रति जनविश्वास कमजोर पार्ने विश्लेषकहरु बताउँछन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि कुनै दाबी देख्नेबित्तिकै प्रतिक्रिया दिनु अघि स्रोत, सन्दर्भ र तथ्य जाँच गर्नु आजको आवश्यकता बनेको उनीहरुको भनाइ छ ।
ओलीविरुद्ध फैलाइएका अफवाहहरू एउटा व्यक्तिसँग सम्बन्धित विषय नभएको एमालेको बुझाइ छ । यी घटनाले चुनावी अवधिमा गलत सूचना कसरी हतियारका रूपमा प्रयोग हुन सक्छ भन्ने गम्भीर संकेत दिएको एमालेको ठहर छ । सत्य के हो भन्ने कुरा तथ्य जाँचबाट प्रस्ट भइसकेको अवस्थामा पनि भ्रामक सामग्रीहरू अझै फैलिइरहनु नेपाली सूचना वातावरणका लागि चिन्ताको विषय भएको सरोकारवाला बताउँछन् ।
अनलाइनखबरको सहयोगमा
























