
काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विशेष आन्तरिक रणनीति सार्वजनिक गरेको छ। उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचालन समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ मार्फत ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति लागू गरेको हो।
निर्वाचन आउन अब ठीक एक महिना बाँकी रहँदा कांग्रेसले आफ्ना नेता र कार्यकर्तालाई फिल्डमा प्रभावकारी रूपमा उतार्न यो कडा नियम ल्याएको छ। यस रणनीति अनुसार जिल्ला सभापति बाहेकका नेताहरू अब ३० दिनसम्म आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर जान पाउने छैनन्। नेताहरूलाई अरूको क्षेत्रमा गएर समय खेर फाल्नुभन्दा आफ्नै वडा र क्षेत्रमा पार्टीको अवस्था सुदृढ बनाउन निर्देशन दिइएको छ। निर्वाचन परिचालन समितिले बनाएको यो निर्देशिकालाई सबै तहका पदाधिकारी र सदस्यहरूले अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।
सहमहामन्त्री डा. डिला संग्रौला पन्तले नेताहरूलाई आ–आफ्नो क्षेत्रमा जिम्मेवार बनाउन र पार्टीको संगठन सुदृढ गर्न यो व्यवस्था गरिएको जानकारी दिइन्। उनले निर्वाचन परिचालन निर्देशिका अनुसार अब नेताहरू जसको जिम्मेवारी जहाँ छ, त्यही खटिनुपर्ने बताएकी छन्।
त्यस्तै, प्रवक्ता देवराज चालिसेले अरूको क्षेत्रमा गएर हल्ला मात्र गर्ने प्रवृत्तिलाई रोक्न यो नीति बनाइएको बताए। आफ्नो वडामा काम गर्न र अरूको क्षेत्रमा नजानका लागि यो रणनीतिले सहयोग गर्ने उनको भनाइ छ। यसअघि उपसभापति शर्माले प्रदेश स्तरीय आन्तरिक छलफलमा यो विशेष रणनीतिबारे नेताहरूलाई जानकारी गराएका थिए।
























