
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र (बालेन) शाहको चुनावी प्रचारमा सादा पोसाकका प्रहरी परिचालन भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ। उम्मेदवारकी श्रीमती सविना काफ्ले सहभागी घरदैलो कार्यक्रममा प्रहरीले समेत मत मागेको दाबीसहित उजुरी परेपछि आयोगले यस विषयमा तत्काल अनुसन्धान गर्न निर्देशन दिएको हो।
केही दिनअघि सविना काफ्ले र राष्ट्रिय स्वतन्त्र पार्टीको टोली झापा-५ का मतदाताहरूको घरदैलोमा पुगेको थियो। टोलीमा सादा पोसाकका प्रहरीहरू समेत सहभागी भएको र उनीहरूले बालेनको पक्षमा मत मागेको आरोप लगाउँदै आयोगमा श्रव्यदृश्य सामग्रीसहितको उजुरी दर्ता भएको छ। आयोगले प्राप्त भिडियोमा सादा पोसाकका प्रहरी देखिएको र उनीहरूले मत मागेको बेहोरा उल्लेख रहेको जनाएको छ।
निर्वाचन आयोगले यस घटनालाई गम्भीरतापूर्वक लिँदै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र काटेर सत्यतथ्य जाँचबुझ गर्न निर्देशन दिएको छ। आयोगले पठाएको पत्रमा उम्मेदवार बालेन्द्र शाहको प्रचारप्रसारका क्रममा निजकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिए-नखटिएको र उनीहरूको भूमिका के थियो भन्नेबारे आवश्यक अनुसन्धान गरी प्रतिवेदन बुझाउन भनिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारी कर्मचारी वा सुरक्षा निकायका व्यक्तिहरू कुनै पनि उम्मेदवारको पक्षमा प्रचारमा संलग्न हुनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन मानिन्छ। आयोगको यो निर्देशनपछि झापामा सुरक्षाकर्मीको परिचालन र आचारसंहिता पालनाको विषयमा थप कडाइ हुने देखिएको छ। अनुसन्धान प्रतिवेदनका आधारमा आयोगले थप कानुनी कदम चाल्ने तयारी गरेको छ।

























