‘कसलाई मतदान गर्ने?’ भनी प्रश्न गर्न रोक, आचारसंहिता उल्लंघन गरे कारबाही हुने

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार २०:२३
‘कसलाई मतदान गर्ने?’ भनी प्रश्न गर्न रोक, आचारसंहिता उल्लंघन गरे कारबाही हुने

विराटनगर । मोरङमा मतदाताको गोपनीयता भंग हुने गरी ‘कसलाई मतदान गर्ने ?’ भनी प्रश्न गर्न स्थानीय निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले रोक लगाएको छ । मंगलबार एक सूचना जारी गर्दै कार्यालयले मतदाताको व्यक्तिगत निर्णय र गोपनीयताको अधिकार सुरक्षित गर्न यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय केही अनलाइन सञ्चारमाध्यम, फेसबुक र युट्युब लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सर्वसाधारण तथा मतदातालाई ‘कुन दल, उम्मेदवार वा चुनाव चिन्हमा मतदान गर्नुहुन्छ ?’ भनी प्रश्न गरिरहेको पाइएकाले त्यसलाई रोक्न कार्यालयले कडा कदम चालेको हो ।

मोरङका आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट मतदाताको गोपनीयता भंग हुने गरी प्रश्न गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यस्तो कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघनको कार्य हो ।’

कार्यालयले सूचना प्रकाशित भएपछि पनि कोही कसैले यस प्रकारको कार्य जारी राखेमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।

निर्वाचनको निष्पक्षता र मतदाताको स्वतन्त्रता कायम राख्नका लागि मतदानको गोपनीयता कायम राख्नु अनिवार्य हुने भएकाले यस्तो निर्णय लिइएको प्रशासनले जनाएको छ ।

यसअघि सामाजिक सञ्जालमा ‘स्ट्रीट पोल’ वा ‘मतदाता सर्वेक्षण’ का नाममा सर्वसाधारणलाई प्रत्यक्ष प्रश्न सोध्ने क्रम बढेपछि निर्वाचन कार्यालयले सक्रियता देखाएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.