
जनकपुरधाम । निर्वाचन लोकतन्त्रको मूल आधार हो । तर, निर्वाचन प्रक्रियामा देखिने द्वन्द्व, तनाव र अविश्वासले त्यसको विश्वसनीयता नै कमजोर बनाउन सक्छ ।
यही यथार्थलाई केन्द्रमा राख्दै ‘चेतना’ परियोजनाअन्तर्गत मधेश प्रदेशको राजधानी जनकपुरधाममा निर्वाचनसम्बन्धी द्वन्द्व व्यवस्थापनका विषयमा गहन छलफल गरिएको छ । रामानन्द चोकको होटल जनकपुर इनमा आयोजित ‘फोकस ग्रुप’ छलफलले निर्वाचनसँग जोडिएका व्यवहारिक चुनौतीहरू उजागर गरेको छ ।
समग्र विकास केन्द्रका कार्यकारी निर्देशक डा. प्रेम ढुंगेलका अनुसार चेतना परियोजनाको मुख्य उद्देश्य निर्वाचन अवधिमा देखिने द्वन्द्वका घटना, त्यसका कारण र प्रभावका बारेमा प्रत्यक्ष अनुभवका आधारमा बुझाइ बनाउनु हो । उनले निर्वाचनमा देखिने साना–ठूला विवाद समयमै सम्बोधन नगर्दा सामाजिक तनाव बढ्ने, समुदायबीच विभाजन गहिरिने र लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास घट्ने खतरा रहेको बताए ।
छलफलमा निर्वाचनसँग सम्बन्धित द्वन्द्वको घटनाका विषयमा सहभागीका प्रत्यक्ष अनुभव र धारणा बुझ्ने काम भएको उनको भनाइ छ । छलफलपछि सहभागीबीच आपसी संवाद र अनुभव आदानप्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण कार्यकारी निर्देशक डा. ढुंगेलले गरेका थिए ।
छलफलमा सहभागीहरूले निर्वाचनका क्रममा उम्मेदवार, दल, मतदाता र सुरक्षाकर्मीबीच उत्पन्न हुने विवाद, अफवाह, दवाब र शक्तिको दुरुपयोगजस्ता विषय उठाएका थिए । यस्ता द्वन्द्वले तत्कालीन वातावरण मात्रै नबिगारेर दीर्घकालमा सामाजिक सद्भाव र राजनीतिक स्थायित्वमा पनि असर पार्ने सहभागीहरूको धारणा थियो ।
कार्यक्रममा परियोजनाको परिचय, आवश्यकता, नैतिक मापदण्ड र छलफलका नियमका बारेमा स्पष्ट जानकारी गराइएपछि सहभागीहरूले खुला रूपमा आफ्ना अनुभव र सुझाव राखेका थिए । छलफलपछि आपसी संवाद र अनुभव आदानप्रदानले समस्या समाधानका सम्भावित उपायहरू पहिचान गर्न मद्दत पुगेको आयोजकको निष्कर्ष छ ।
विश्लेषकहरूका अनुसार निर्वाचनमा द्वन्द्व व्यवस्थापन आवश्यक हुनुको कारण स्पष्ट छ । समयमै जोखिम पहिचान, संवाद र सहकार्यबाट द्वन्द्वको समाधान गर्न सकिए निर्वाचन प्रक्रिया शान्त, निष्पक्ष र पारदर्शी बन्न सक्छ ।
जनकपुरधाममा सम्पन्न छलफलले निर्वाचनलाई मतदानको प्रक्रिया नभई विश्वास र सहभागिताको साझा अभ्यासका रूपमा स्थापित गर्न द्वन्द्व व्यवस्थापन कति जरुरी छ भन्ने सन्देश दिएको छ । कार्यक्रमले निर्वाचनको विश्वसनीयता जोगाउन द्वन्द्व व्यवस्थापनको अपरिहार्यतालाई स्पष्ट पारेको छ ।

























