फोटो क्याप्सन : मोरङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत अलपत्र अवस्थामा रहेको कट्नु खोलाको पुल ।विराटनगर । सुनवर्षी नगरपालिका– ६ कैमीका बेचनलाल गोढीको घर छेउमा धादरी (खोल्सो) छ । उनी सानै हुँदा देखेको यो खोल्सोमा पुल छैन ।
बर्खामा बजार जानु पर्दा गाउँको बाटो घुम्नुपर्छ । पानी थोरै हुँदा खोल्सोबाटै तर्न सकिन्छ । ‘डाइरेक्ट बाटो ४–५ सय मिटर छ । तर, पुल नहुँदा घुमेर आउनुपर्छ,’ उनले भने, ‘बर्खामा नानीहरुलाई बोकेर तार्नुपर्छ । विकासको नाममा हाम्रो गाउँमा केही छैन । धेरै गाह्रो छ ।’ उनी मोरङ क्षेत्र नम्बर २ का बासिन्दा हुन् ।
मोरङ २ (पुरानो १)ले देशलाई प्रधानमन्त्री दिएको छ । यो क्षेत्रबाट ३ पटक जितेका स्वर्गीय गिरिजाप्रसाद कोइराला जितेको अवधिमा ३ पटक प्रधानमन्त्रीको रुपमा काम गरे । उनीपछि यो क्षेत्रबाट कांग्रेस एमालेले पटकपटक चुनाव जिते ।
तर, नागरिकको समस्या समाधान भइको छैन । उस्ताको उस्तै छ । ‘गिरिजाप्रसाद कोइराला ३ पटक जितेर जानुभयो । आमोद उपाध्याय, मिनेन्द्र रिजाल र ऋषिकेश पोखरेलले पनि बारम्बार जितेर गए,’ गोढी भन्छन्, ‘विकासको नाममा हाम्रो गाउँमा केही गरेनन् ।’ बजार एरियामा काम गरेपनि गाउँमा काम नगरेको उनले बताए ।
रतुवामाई नगरपालिका– ६ सौठाका जयप्रसाद पौडेल भने गिरिजाप्रसाद कोइरालाले काम गरेको देख्छन् । उर्लाबारी–आमबाडी सडक स्तारोन्नतिसँगै बिजुली विस्तारको काम गिरिजाप्रसाद कोइरालाकै पालामा भएको उनी बताउँछन् ।
२०४८ सालदेखि ३ कार्यकाल गिरिजाले जितेको क्षेत्रमा कांग्रेस र एमालेले पटकपटक जितेका छन् । ३ दशकको अन्तरालमा गाउँमा सडक पूर्वाधार र बिजुली पुगेका छन् । नागरिकको जीवनस्तरमा सुधार भएको छ ।
कांग्रेस र एमालेले ३ दशक नेतृत्व गरेको क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा नयाँ दल रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) र त्यो दलको उम्मेदवारका कारण चर्चामा छ ।‘यता त अहिले ओली हराउ अभियान चलिरहेको छ,’ स्थानीय लक्ष्मीप्रसाद घिमिरे भन्छन्, ‘यहाँ ओली त छैनन् । तर, उनको कारण एमालेसँग असन्तुष्टि छ ।’
३ दशकदेखि कांग्रेस र एमालेको दबदबा रहेको यो क्षेत्रमा यसपटक नयाँ दल रास्वपा र त्यसका उम्मेदवारको चर्चा गाउँगाउँमा छ । स्थानीय मतदातामा पुराना दलप्रति असन्तुष्टि प्रस्ट देखिन्छ । ‘यता त अहिले ओली हराऊ अभियान जस्तै चलेको छ,’ घिमिरे भन्छन् ।
बेचनलाल गोढी पनि गाउँमा नयाँको हल्ला चलेको बताउँछन् । ‘अहिले सबैतिर नयाँनयाँ भन्छन् । फेसबुकमा पनि नयाँकै चर्चा छ । हेरौं यसपालि के हुन्छ,’ उनी भन्छन् ।
रंगेली नगरपालिका– ५ का देवनारायण मण्डल नयाँको चर्चा भए पनि कांग्रेसले चुनाव जित्ने दाबी गर्छन् । उनी कांग्रेस समर्थक हुन् । ‘छोराहरु नयाँ र बालेन भन्छन,’ उनले भने, ‘हामी त कांग्रेसमा लागेका छौं । रुखमा भोट हाल्छौं ।’ डाइनिया बजारकी सुखिया दास भने एमालेलाई मतदान गर्ने बताउँछिन् ।
समग्र वस्तुस्थितिलाई हेर्दा क्षेत्र नम्बर २ ले यसपटक परिवर्तन चाहेको देखिन्छ । विकास निर्माणसहितका उपयुक्त एजेन्डा लिएर आउने दल र उम्मेदवारलाई सहयोग गर्ने मतदाताको मनासाय रहेको छ ।
फागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजाल उम्मेदवार छन् । नेकपा (एमाले)ले रंगेलीका पूर्वमेयर दिलिप बगडियालाई मैदानमा उतारेको छ । २०७४ र २०७९ मा आफ्नो उम्मेदवार नउठाएको नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादीसहितको दल) नेकपाले यो पटक चन्द्रवीर राईलाई मैदानमा उतारेको छ । रास्वपाबाट कृष्ण कार्की उम्मेदवार छन् । राष्ट्रिय उर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार छन् ।
मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधवप्रसाद राजवंशी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विनोदकुमार सिंह गनगाई, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् । नरेशकुमार साह, अनिलकुमार साह र बुधु ऋषिदेव स्वतन्त्र उम्मेदवार छन् ।
२०४८ सालदेखि २०५६ सम्म यो क्षेत्र गिरिजाप्रसाद कोइरालाको अविजित किल्ला थियो । २०६४ को माओवादी लहरमा समेत कांग्रेसबाट आमोदप्रसाद उपाध्यायले जित निकालेर पार्टीको इज्जत जोगाएका थिए । तर, २०७० मा ऋषिकेश पोखरेल पहिलोपटक कांग्रेसको यो किल्ला ढालेर कम्युनिष्ट झण्डा फहराउन सफल भए ।
त्यसयता कांग्रेस र एमालेबीच आलोपालो जितहारको सिलसिला चल्दै आएको छ ।
१, २०७४ : मिनेन्द्र रिजाल (कांग्रेस) ३५,८१९ मतका साथ विजयी ।
२, २०७९ : ऋषिकेश पोखरेल (एमाले) ३३,१४८ मतका साथ विजयी, सुजाता कोइराला (कांग्रेस) ३१,९४० मत ।
कानेपोखरी गाउँपालिकाका १,२,३, पथरीशनिश्चरे नगरपालिकाका ५ र ६, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९, रतुवामाई नगरपालिकाका १० वटै र सुनवर्षी नगरपालिकाका ९ वटै वडा रहेको क्षेत्र नम्बर २ मा १ लाख २९ हजार ६ सय ८४ जना मतदाता छन् ।
























