
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला धनकुटामा राजनीतिक खिचातानी सुरु भएको छ। नेकपा एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेस धनकुटाले गम्भीर आपत्ति जनाएको छ।
कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बुधबार एक विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवार र निर्वाचित जनप्रतिनिधिहरूले मतदातालाई प्रभावित पार्न नगद तथा विभिन्न भौतिक सामग्री वितरण गरिरहेको आरोप लगाए। विज्ञप्तिमा एमालेले गाडीहरूमा पार्टीका झण्डा र चुनाव चिह्न राखेर प्रचार गर्ने तथा चर्को स्वरमा साउण्ड सिस्टम र बाजागाजा प्रयोग गरी आचारसंहिताको धज्जी उडाएको उल्लेख छ।
यस विषयमा कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएको छ। दोषी उम्मेदवारमाथि तत्काल छानबिन र कारबाही नभए पार्टीले जनस्तरबाटै कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ।
यसअघि पनि एमाले उम्मेदवार राजेन्द्र कुमार राईलाई पैसा बाँडेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराइसकेको छ। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने कांग्रेसको माग छ।
























