आफैँ देशको नेतृत्व गर्छौँ : घिसिङ

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार १४:२४

काठमाडौं ।आफ्नो पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन् ।

पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा घिसिङले आफ्नो पार्टी डेलिभरीका आधारमा अर्ग्यानिक रूपमा स्थापित भएको दाबी गरे । देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गरे ।

निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उनको भनाइ छ । प्रधानमन्त्रीको छनोट भाषणले नभइ काम गरेको आधारमा जनताले छनोट गर्ने उनले बताए । उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको उनले तर्क गरे ।

“हामी छोटो समयमा आएका छौँ । तर यो पार्टीले नै यो देशको नेतृत्व गर्नेछ । प्रधानमन्त्री हामी नै हुन्छौँ । हामी यो देशको नेतृत्व गर्न आएको हो,” घिसिङले भने, “हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होइन । हामी आफैँ प्रधानमन्त्री बनेर यो देशको परिवर्तन गर्न आएका हौँ । भाषण गरेर मात्रै प्रधानमन्त्री बनिँदैन, कामले प्रधानमन्त्री बनिन्छ, जनताले छानेपछि प्रधानमन्त्री हुने हो ।”

नयाँ ऊर्जा र जोशसहित अघि बढेको पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर थप सशक्त भएको उनको भनाइ छ । दुवै पार्टी जेनजी आन्दोलनको भावना र माग बोकेका पार्टी भएका उनले बताए ।

“दुवै पार्टीले जेनजी आन्दोलनको भावना र मागलाई बोकेको छ,” घिसिङले भने, “यो पार्टी नै नयाँ हो र यसले नै देशको परिवर्तन गर्छ । हामी काम गरेर, डेलिभरी गरेर आएका मान्छेहरु यो पार्टीमा छौँ । हामी डेलिभरी दिनको लागि आएका हौँ ।”

अबको निर्वाचनमा भाषण गर्नेलाई नभई काम गरेर डेलिभरी दिने व्यक्ति र पार्टीलाई मत दिनुपर्ने घिसिङको भनाइ छ । भाषण गरेर देशमा रुपान्तरण नहुने उनले बताए । आफूहरुले विगतमा पनि काम गरेको र आगमी दिनमा पनि गर्ने उनको भनाइ छ ।

“अबको भोट भनेको डेलिभरी दिनेलाई, काम गर्नेलाई हो, भाषण गर्नेलाई होइन । काम गरेर देखाउने पार्टीलाई, व्यक्तिलाई भोट दिनुपर्छ । यो समाज परिवर्तन गर्नुपर्छ, देशको आर्थिक रुपान्तरण गर्नुपर्छ,” घिसिङले भने ।

उज्यालो नेपाल पार्टीले मधेस प्रदेशमा घरदैलो अभियान सुरु गरेको छ । प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उमेदवार रहेको उल्लेख गर्दै घिसिङले धेरै क्षेत्रमा प्रतिस्पर्धामा रहेको र उल्लेख्य सिट जित्ने दाबी गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.