
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशकौँदेखि बल्झिरहेको सुकुम्बासी समस्यालाई राजनीतिक दलहरूले भोट बैंकका रूपमा मात्र प्रयोग गरेको आरोप लगाउँदै अब यो ‘पसल’ सदाका लागि बन्द गरिदिने दाबी गरेका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा रहेका सुकुम्बासी बस्तीका बासिन्दाहरूसँग कुराकानी गर्दै लामिछानेले वास्तविक सुकुम्बासीको अधिकारका लागि आफू दृढताका साथ लड्ने बताएका हुन् ।
सुकुम्बासी समस्या समाधान गर्दा आफूले दलीय आधारमा भेदभाव नगर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । आफ्नो पार्टीको कार्यकर्ता भए मात्र सुविधा पाउने र अरू नहुने परिपाटीको अन्त्य गरिने उनले स्पष्ट पारे । कानुनले तोके बमोजिम वास्तविक सुकुम्बासीले हक पाउनुपर्ने र यदि विद्यमान कानुन बाधक देखिए त्यसलाई संशोधन गरेर भए पनि गरिब र भूमिहीनलाई जग्गाधनी बनाइने उनले बताए ।
लामिछानेले सुकुम्बासीका नाममा राजनीति गरेर भोट बटुल्ने प्रवृत्तिलाई रोक्न आफ्नो पार्टीले स्पष्ट योजना ल्याएको उल्लेख गरे । यो केवल चुनावी गफ मात्र नभएको भन्दै उनले पार्टीको चुनावी वाचापत्रमा सुकुम्बासी समस्या समाधानको ठोस खाका समावेश गरिने जानकारी दिए । हिजोका दिनमा पनि आफूले यस्तो वचन दिएको स्मरण गर्दै उनले यस पटक समस्याको पूर्ण समाधान खोजिने दाबी गरे ।
सुकुम्बासी समस्याको स्थायी समाधानका लागि बलियो सरकारको आवश्यकता पर्ने भन्दै लामिछानेले आगामी निर्वाचनमा रास्वपालाई एकल बहुमत दिन आग्रह गरे । पाँच वर्षसम्म निर्धक्कसँग सरकार चलाउन पाउने गरी जनमत प्राप्त भएमा मात्र यस्ता जटिल समस्याहरू समाधान गर्न सकिने उनको भनाइ थियो । उनले सुकुम्बासीहरूलाई कसैको डर र प्रलोभनमा नपरी आफ्नो भविष्यका लागि सही निर्णय लिन समेत आह्वान गरेका छन् ।
























