
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई तीव्र बनाउने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था र आचारसंहिता कार्यान्वयनका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।
बैठकले विशेषगरी सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या विवरण, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको कडा निगरानी गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन् । यस्ता गतिविधि रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई थप सशक्त र जिम्मेवार बनाइने भएको छ । निर्वाचनसम्बन्धी सही र भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच पुर्याउन तथा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले विशेष ध्यान दिने भएको छ ।
सञ्चार सम्पर्क नहुने दुर्गम मतदानस्थलहरूको पहिचान गरी त्यहाँ सञ्चारका लागि वैकल्पिक व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ । निर्वाचन विरोधी गतिविधिलाई कडाइका साथ नियन्त्रण गरी संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ । साथै, निर्वाचनका बेला हुन सक्ने पेट्रोलियम पदार्थको खुला खरिद बिक्री र यसको दुरुपयोगलाई समेत नियन्त्रण गरिने भएको छ ।
सुरक्षा समितिको बैठकमा निर्वाचनमा सुरक्षाकर्मीको प्रभावकारी परिचालन र उम्मेदवारहरूको सुरक्षा व्यवस्थापनका विषयमा समेत विस्तृत छलफल भएको प्रवक्ता काफ्लेले बताए । सरकारले निर्वाचन अवधिभर सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबै जिल्लामा उच्च सतर्कता अपनाउन र आचारसंहिता उल्लंघनका घटनामा तत्काल कारबाही अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

























