
काठमाडौँ । बलात्कारको गम्भीर आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैङ्गलोरबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी नेपाल ल्याएको हो ।
ठगुन्नालाई पक्राउ गरिसकेपछि प्रहरीले थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाएको छ । उनी विरुद्ध जाजरकोटकी एक युवतीले जबरजस्ती करणीको मुद्दामा जाहेरी दिएकी थिइन् । ती पीडित युवतीले ठगुन्नामाथि कडा कारबाहीको माग गर्दै गत मङ्सिर २५ गतेदेखि काठमाडौँको माइतीघर मण्डलमा आमरण अनशन समेत बसिरहेकी थिइन् ।
दार्चुलाको नौगाड गाउँपालिका वडा नं. २ सुन्डमुन्ड स्थायी घर भएका ठगुन्ना पछिल्लो समय काठमाडौँको रामशाहपथमा बस्दै आएका थिए । लामो समयदेखि फरार रहेका उनलाई पक्राउ गर्न प्रहरीले सीमावर्ती क्षेत्र र भारतका विभिन्न सहरहरूमा निगरानी बढाएको थियो ।

























