
धनकुटा । निर्माणाधीन भेडेटार–रवि–राँके सडक अन्तर्गत भेडेटार–नाम्जे खण्डमा सवारी आवागमनका लागि टाइमकार्ड लागू गरिएको छ । थुम्की भीर कटानको काम भइरहेकाले सम्भावित जोखिम कम गर्न र सडक विस्तारलाई तीव्रता दिन निश्चित समयका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेकले साँगुरीगढी गाउँपालिकासँगको समन्वयमा यो व्यवस्था कार्यान्वयनमा ल्याएको बताएको छ । भीर काट्न र ठूला ढुङ्गा फुटाउन भारी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सुरक्षाका कारण दिनको विभिन्न समयमा सडक पूर्ण रूपमा बन्द रहनेछ ।
तालिका अनुसार बिहान ७ बजेदेखि ९:३० बजेसम्म, १०:३० बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो २:३० बजेदेखि ४:३० बजेसम्म सडक बन्द गरिनेछ । त्यसैगरी, साँझ ५ बजेदेखि ६ बजेसम्म र राति ८ बजेदेखि १ बजेसम्म पनि आवागमन ठप्प हुने कम्पनीले जनाएको छ । बाँकी समयमा भने सावधानी अपनाएर सवारी साधन चलाउन अनुमति दिइएको छ ।
साँगुरीगढी गाउँपालिका–६ का वडाध्यक्ष दीपक मगरले सडक निर्माणको कामलाई सहज बनाउन र दुर्घटना रोक्न टाइमकार्डको व्यवस्था अनिवार्य भएको बताए । उनले यात्रु र चालकहरूलाई निर्धारित समय तालिका हेरेर मात्र यात्रा तय गर्न आग्रह गरेका छन् ।
धनकुटाको भेडेटारदेखि पाँचथरको राँकेसम्मको १ सय ३ किलोमिटर लामो यो सडक भारतको एक्जिम बैंकको करिब ३ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको छ । यो सडक सम्पन्न भएपछि धनकुटा, इलाम र पाँचथरका बासिन्दाको यात्रा निकै सहज हुने विश्वास गरिएको छ ।

























