
खोटाङ। जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाँदा बिरामी परेका अधिकांश स्थानीय निको भएका छन्। माघ २१ गतेको विवाह भोज खाएका बेहुला–बेहुलीसहित १७३ जना स्थानीय बिरामी परेका थिए।
गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बिरामीमध्ये अधिकांश स्वस्थ भइसकेको र हाल प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा ५ जना मात्रै उपचाररत रहेको जानकारी दिइन्। बिरामीको संख्या धेरै भएपछि गाउँपालिकाले माघ २३ गतेदेखि शिविर खडा गरेर उपचारको व्यवस्था मिलाएको थियो। उपचारमा गाउँपालिकाको स्वास्थ्य टोली र जनप्रतिनिधिहरू दिनरात खटिएका थिए।
भोज खाएको करिब १२ घण्टापछि स्थानीयमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको थियो। बिरामीको चाप बढेपछि स्वास्थ्य कार्यालयबाट थप औषधि र जनशक्ति मगाएर उपचार गरिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए।

























