
सुनसरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भ्रामक सामग्री पोस्ट गरेको आरोपमा नेकपा एमालेका एक युवा नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा इनरुवा निवासी विप्लव घोष रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घोषले निर्वाचन क्षेत्र नम्बर ४ का रास्वपा उम्मेदवारविरुद्ध भ्रामक भिडियो पोस्ट गरेका थिए। सामाजिक सञ्जालमा गलत सूचना र अफवाह फैलाएको पाइएकाले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसअघि रास्वपाले विज्ञप्ति जारी गरी घोषमाथि कारबाहीको माग गरेको थियो। दबाब बढेपछि घोषले सुरुमा सामाजिक सञ्जालमार्फत क्षमायाचना गरे पनि पछि ‘हाइकमाण्डको सल्लाह’ भन्दै सो पोस्ट हटाएर पुनः अर्को स्ट्याटस लेखेका थिए। प्रहरीले यस्ता गतिविधि गर्ने अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको र सामाजिक सञ्जाललाई विशेष निगरानीमा राखिएको बताएको छ।

























