
काठमाडौं । सामाजिक सञ्जालसम्बन्धी विवादास्पद विधेयक अन्ततः राष्ट्रियसभाबाट फिर्ता भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिने सरकारको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको हो ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने निर्णयलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । कुनै विरोध नआएपछि सभाले प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्यो ।
यससँगै सामाजिक सञ्जालको नियमनका नाममा ल्याइएको विधेयक संसद्को प्रक्रियाबाट औपचारिक रूपमा हटेको छ । यसअघि माघ २३ गते बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सामाजिक सञ्जाल विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव दर्ता गराएका थिए ।
सरकारको उक्त प्रस्तावमाथि कुनै संशोधन वा असहमति नआएपछि सोमबारको बैठकले त्यसलाई अन्तिम रूप दिएको हो । सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने, राज्यलाई अत्यधिक अधिकार दिने र आलोचनात्मक आवाज दबाउने खतरा रहेको भन्दै विभिन्न राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज र अधिकारकर्मीहरूले चर्को विरोध जनाउँदै आएका थिए ।
ती विरोध र दबाबकै बीच सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको हो । सोही बैठकले पर्यटन विधेयक २०८१ भने पारित गरेको छ । बैठक सुरु हुनुअघि राष्ट्रियसभामा ६ बर्से कार्यकाल पूरा हुन लागेका सदस्यहरूले आफ्नो संसदीय अनुभव, योगदान र सिकाइहरू सदनसमक्ष राखेका थिए ।
यसैबीच, बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्तावसमेत पारित गरेको छ । राष्ट्रियसभा सचिवालयका अनुसार सभाको अर्को बैठक माघ २८ गते बुधबारका लागि बोलाइएको छ ।

























