‘आपराधिक तत्त्वले विध्वंस मच्चाए, ममाथि हत्याराको आरोप लगाउन खोजियो’

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार १८:५४

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगाइएका हत्यारा र हिंसात्मक आरोपलाई जनताले नपत्याउने बताएका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओलीले सोमबार झापाको गौरीगञ्जस्थित देवीगञ्जमा स्थानीय मतदातासँगको भेटघाटमा बोल्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आपराधिक तत्त्वहरूले हिंसा र विध्वंस मच्चाएको बताए । उनले भने, ‘ती आपराधिक तत्त्वहरूले नै उल्टै मलाई गोली चलाएर मान्छे मार्ने आरोप लगाएका छन् । प्रधानमन्त्रीको हैसियतमा मैले कसैलाई पनि गोली चलाउन कहिल्यै आदेश दिइनँ । अपराधीहरूले नै संसद् भवन र सिंहदरबार जलाउने प्रयास गरी प्रहरीलाई गोली हान्न उक्साएका हुन् ।’

ओलीले मुलुकको समग्र विकासका लागि एमालेले गरेको कामलाई पनि स्मरण गर्दै, ‘गोबर र गुइँठा बाल्नुपर्ने अवस्थामा रहेका ठाउँलाई विकास गर्दै बिजुली बाल्ने अवस्था सिर्जना गर्नुपर्छ’ भनेका छन् । उनले केहीले विकासको विषयलाई तोडमोड गरेर प्रस्तुत गरेकोमा आपत्ति पनि जनाए ।

साथै, नेपालमा ग्यास उत्खनन भइसकेको उल्लेख गर्दै अब त्यसलाई घरघरमा पाइपमार्फत वितरण गर्न आवश्यक रहेकोमा उनले जोड दिए । स्थानीय संवादमा उनले मोबाइल नेटवर्क समस्या समाधानका लागि टेलिफोन टावरको माग पनि सुने ।

स्थानीय सीताराम यादवले मोबाइल नेटवर्क राम्रो नभएकाले टावर निर्माण आवश्यक रहेको बताएका थिए । ओलीले हाल प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो प्रचार र स्थानीयसँगको प्रत्यक्ष संवादमा केन्द्रित रहेको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.