
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी प्रचारका क्रममा व्यस्त छन्। घरदैलो र मतदातासँगको भेटघाटका क्रममा उनले विकासका कुरा मात्र होइन, समसामयिक राजनीतिक विषयमा उठाइएका जिज्ञासाको पनि जवाफ दिइरहेका छन्।
यसै क्रममा हिजो एक मतदाताले देशमा राजसंस्थालाई पनि स्थान दिनुपर्ने माग राखेपछि ओलीले त्यसको प्रतिवाद गरे। उनले देशमा अब राजसंस्थाको कुनै आवश्यकता र सान्दर्भिकता नरहेको बताए।
‘राजा ल्याएर कुर्सीमा राख्दैमा के फरक पर्छ? उहाँहरूलाई के कमी भएको छ र? लोकतन्त्र छ, लोकतन्त्रमा रमाइरहनु भएको छ,’ ओलीले भने, ‘उहाँहरूलाई चुनाव लड्न पनि रोकिएको छैन, कहाँ पाखा लगाइएको छ र?’ उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै पहिले राजतन्त्र ल्याउन यताउता गर्ने गरे पनि अहिले चुप लागेर बसेको टिप्पणी गरे।
ओलीले राजा आउँदैमा देशमा परिवर्तन आउँछ भन्नु भ्रम मात्र भएको बताए। ‘राजा आउँदैमा परिवर्तन आउँछ भने २४० वर्षसम्म यी बाटा किन बनेनन्? यी बाटा र विकासका लागि लोकतन्त्र नै चाहियो नि,’ उनले थपे। राजा कुर्सीमा बस्नेबित्तिकै जादु नहुने भन्दै उनले जनताको शासन र विकासको गति लोकतन्त्रमा मात्र सम्भव हुने दाबी गरे।
























