चुनावी घोषणापत्रको अन्तिम म्याद फागुन ३ गते

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १८:४६

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ गतेभित्र अनिवार्य रूपमा चुनावी घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।

आयोगले घोषणापत्र सार्वजनिक गरेर सम्बन्धित निकायमा औपचारिक रूपमा पेस गर्न समेत स्पष्ट आदेश दिएको हो । मंगलबार बसेको आयोगको बैठकले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ अनुसार घोषणापत्र सार्वजनिक गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयअनुसार निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले आफ्नो घोषणापत्र निर्वाचन आयोगमा र पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्नुपर्नेछ । आयोगद्वारा जारी विज्ञप्तिमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ लाई आधार मानी उक्त निर्देशन दिइएको उल्लेख गरिएको छ ।

आयोगले घोषणापत्रलाई निर्वाचन प्रक्रियाको महत्वपूर्ण अंगका रूपमा लिँदै समयमै सार्वजनिक नगरे आचारसंहिता उल्लंघन मानिने स्पष्ट संकेतसमेत दिएको छ । आयोगका अनुसार घोषणापत्रले दल र उम्मेदवारको नीति, कार्यक्रम र प्रतिबद्धता सार्वजनिक गर्ने भएकाले मतदातालाई सूचित हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

निर्धारित समयसीमाभित्र घोषणापत्र सार्वजनिक गरी पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न आयोगले सबै सरोकारवालालाई गम्भीर हुन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.