हर्क साम्पाङको चेतावनी : ‘घण्टीमा भोट हाले देश नरहला’

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १९:५९

विराटनगर । सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवार रहेका धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङ (हर्कराज राई)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसको चुनाव चिन्ह ‘घण्टी’ माथि तीखो प्रहार गरेका छन् ।

उनले मंगलबार साँझ ‘घण्टीमा भोट हाले देश नरहला’ भनेर चेतावनीपूर्ण स्टाटस सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका हुन् । उनले लेखेको छोटो र गहिरो अर्थ बोकेको वाक्य‘घण्टीमा भोट हाले देश नरहला, मर्निङ सोज द डे’ले अहिले राजनीतिक वृत्तमा व्यापक चर्चा जन्माएको छ ।

उनको पोस्टले १ घण्टाभित्रै ५ हजार ३ सयभन्दा बढी लाइक र ३ हजार १ सय बढी कमेन्ट पाएको छ । कमेन्ट मिश्रित छन् । कतिपयले विरोध र कतिपयले समर्थन गरेका छन् । साम्पाङको यो अभिव्यक्तिलाई धेरैले व्यक्तिगत असन्तुष्टि नभएर गम्भीर चेतावनीका रूपमा लिएका छन् ।

साम्पाङले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन ‘घण्टीमा भोट हाल्न हुँदैन भनेर’ सामाजिक सञ्जालमा बारम्बार स्टाटस लेखिरहेका छन् । उनले प्राय आफ्नो पार्टीले आयोजना गरेका सभा तथा विभिन्न ठाउँमा दिएका अन्तर्वार्ताहरुमा रास्वपाको चर्को आलोचना गर्ने गरेका छन् ।

‘मर्निङ सोज द डे’ अर्थात् सुरुवातले नै अन्त्यको संकेत गर्छ भन्ने अर्थ जोडेर उनले रास्वपाको वर्तमान गतिविधि र नेतृत्वशैलीले देशको भविष्य कता लैजान सक्छ भन्ने प्रश्न उठाएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले पछिल्लो समय रास्वपाविरुद्ध लगातार आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।

उनी आफूलाई वैकल्पिक राजनीति र श्रम संस्कृतिको प्रतिनिधि मान्दै आएका छन् भने रास्वपालाई ‘लोकप्रियतामुखी तर दिशाहीन राजनीति’को आरोप लगाउँदै आएका छन् । नारामा नयाँपन देखिए पनि व्यवहारमा रास्वपाले स्पष्ट वैचारिक धरातल र दीर्घकालीन राष्ट्रिय दृष्टिकोण दिन नसकेको आरोप उनले बारम्बार लगाइरहेका हुन् ।

साम्पाङले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) लाई लक्षित गरी कडा टिप्पणी गर्दै आएका छन् । सामाजिक सञ्जालमा उनले बालेनको नेतृत्वशैली, राजनीतिक अभिव्यक्ति र राष्ट्रिय मुद्दाप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाउँदै आएका छन् ।

कतिपय अवस्थामा उनका स्टाटसहरू निकै कटाक्षपूर्ण र व्यंग्यात्मक समेत देखिन्छन् । साम्पाङका समर्थकहरू भने उनको स्पष्ट र निर्भीक बोलीलाई ‘राजनीतिमा आवश्यक झड्का’का रूपमा व्याख्या गर्छन् ।

उनीहरूका अनुसार साम्पाङले भिडको पछाडि दौडिने राजनीति नभएर श्रम, आत्मनिर्भरता र स्थानीय उत्पादनमा आधारित वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्न खोजिरहेका छन् । ‘रास्वपाको तीव्र उदयले राजनीतिमा देखिएको सतही उत्साहलाई खतराको संकेत’ मान्नुपर्ने साम्पाङको तर्क छ ।

तर, रास्वपाका समर्थकहरू साम्पाङको अभिव्यक्तिलाई अनावश्यक आक्रोश र व्यक्तिगत रिसईबीको उपज भन्दै अस्वीकार गर्छन् । पुराना दलहरूबाट आजित जनताले खोजेको विकल्प नै रास्वपा भएको बताउँदै त्यसलाई ‘देश नरहने’जस्तो अतिरञ्जित भाषामा चित्रण गर्नु लोकतान्त्रिक प्रतिस्पर्धाको मर्यादाभित्र नपर्ने उनीहरूको तर्क छ ।

कतिपय भने साम्पाङको स्टाटसलाई हल्का रूपमा लिन नहुने बताउँछन् । विश्लेषकहरुका अनुसार साम्पाङको यस्ता र उत्तेजक अभिव्यक्तिले २ फरक राजनीतिक धारबीचको टकराव स्पष्ट रूपमा देखाउँछ ।

निर्वाचन नजिकिँदै जाँदा साम्पाङबाट यस प्रकारका कडा अभिव्यक्तिहरू आउने क्रम तीव्र बनिरहेको छ । साम्पाङको स्टाटसले सुनसरी–१ मात्र नभएर देशभरको राजनीतिक बहसलाई थप चर्काएको कतिपयको बुझाइ छ । अब मतदाताले ‘घण्टी’को आवाज सुन्ने कि ‘श्रम संस्कृति’को सन्देश भन्ने फैसला आगामी फागुन २१ गतेको मतदानमार्फत दिने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.