
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा स्प्रे ट्यांकी वितरणसम्बन्धी बोलपत्रमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पत्रकार रुपेन्द्र पटेलसहित ४ जनाले विशेष अदालतबाट सफाइ पाएका छन् ।
माघ २७ गते सुनाइएको फैसलामा अदालतले आरोप पुष्टि हुने ठोस प्रमाण नदेखिएको निष्कर्ष निकाल्दै अधिकांश प्रतिवादीलाई निर्दोष ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य हेमन्त रावलको संयुक्त इजलासले तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल, जनसवाल दैनिकका सम्पादक रामजी बगाले, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव र सहलेखापाल नविनकुमार यादवलाई सफाइ दिएको हो ।
अदालतले तराई पोष्टमा सम्बन्धित बोलपत्रको विज्ञापन प्रकाशित भएको प्रमाण नदेखिएको, भुक्तानी नलिएको र पत्रिकाको नाम दुरुपयोग भएको ठहर गरेको छ । तर, नक्कली प्रतिनिधि बनेर किर्ते कागजात र छाप प्रयोग गर्दै नगरपालिकाबाट २ लाख १२ हजार २ सय २५ रुपैयाँ भुक्तानी लिएका ओमप्रकाश यादवलाई भने दोषी ठहर गरिएको छ ।
उनलाई ६ महिना कैद सजायसहित सोही बराबरको बिगो असुल, बराबर जरिबाना तथा अपराध पीडित संरक्षण कोषमा ८ हजार ४ सय ८९ रुपैयाँ क्षतिपूर्ति बुझाउने फैसला भएको छ । अख्तियारले २०७८ फागुन २७ गते आर्थिक वर्ष २०७८–७९ को बोलपत्र प्रक्रियामा सीमित प्रतिस्पर्धा गराइएको आरोपसहित मुद्दा दायर गरेको थियो ।
अदालतको फैसलाले प्रमाण अभावमा निर्दोष ठहरिएकाहरूलाई राहत दिएको छ । तर, नक्कली कागजात प्रयोग गरी सार्वजनिक निकायलाई झुक्याउने कार्यप्रति कडा सन्देश दिएको छ ।

























