फागुन २ भित्र कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक हुने

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २८, बुधबार १३:४३

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला नेपाली कांग्रेसले आफ्नो चुनावी दस्तावेज फागुन २ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीले यसपटक परम्परागत ‘घोषणापत्र’ भन्दा फरक शैलीमा ‘प्रतिज्ञापत्र’ शीर्षकमार्फत आफ्नो प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेको हो । बुधबार बिहान राजधानीमा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनले कांग्रेसको मूल लक्ष्य फागुन १ गते नै प्रतिज्ञापत्र सार्वजनिक गर्ने रहे पनि अधिकतम फागुन २ गतेभित्र सार्वजनिक गरिसक्ने स्पष्ट पारे । ‘हाम्रो तयारी फागुन १ गतेका लागि छ । ढिलोमा फागुन २ गते सार्वजनिक गर्छौँ,’ प्रवक्ता चालिसेको भनाइ थियो ।

निर्वाचन आयोगले मंगलबार राजनीतिक दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी फागुन ३ गतेभित्र आआफ्ना घोषणापत्र सार्वजनिक गरिसक्न निर्देशन दिएको थियो । आयोगको सोही समयसीमालाई ध्यानमा राख्दै कांग्रेसले निर्धारित मितिभन्दा १ दिनअघि नै आफ्नो दस्तावेज सार्वजनिक गर्ने योजना बनाएको हो ।

कांग्रेस स्रोतका अनुसार यसपटकको प्रतिज्ञापत्रमा आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, सुशासन, संघीयताको प्रभावकारी कार्यान्वयन, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, पूर्वाधार विकास तथा सामाजिक न्यायका मुद्दाहरूलाई प्राथमिकताका साथ समेटिएको छ । पार्टीले विगतका अनुभव र वर्तमान राजनीतिक आर्थिक अवस्थाको विश्लेषण गर्दै मतदातासामु स्पष्ट प्रतिबद्धता राख्ने दाबी गरेको छ ।

‘प्रतिज्ञापत्र’ नामकरण गर्नुको उद्देश्यबारे पार्टीभित्रको छलफलले जनतासँग गरिएको वाचा कार्यान्वयन गर्ने दृढ अठोटलाई प्रष्ट पार्ने संकेत दिएको बताइएको छ । कांग्रेस नेतृत्वले चुनावी दस्तावेजलाई औपचारिक घोषणा नभई कार्यान्वयनयोग्य प्रतिवद्धताको रूपमा प्रस्तुत गर्ने रणनीति लिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरूबीच चुनावी तयारी तीव्र बनिरहेको छ । यस सन्दर्भमा कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक हुनु चुनावी बहस र राजनीतिक प्रतिस्पर्धामा महत्वपूर्ण दस्तावेजका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.