
पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई देशकै सबैभन्दा नयाँ सोच र स्पष्ट भिजन बोकेको राजनीतिक शक्ति भएको दाबी गरेका छन् ।
पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थिति र जनअपेक्षाअनुसार पार्टीले नयाँ घोषणापत्रमार्फत स्पष्ट संकल्प प्रस्तुत गरेको बताए । प्रचण्डले पछिल्लो समय नेकपाबारे विभिन्न किसिमका भ्रम फैलाइएको उल्लेख गर्दै सुरुआतमा युवाहरूमा केही अन्योल देखिएको स्वीकार गरे ।
‘हामीलाई माओवादी भनेर ३ वटा पार्टी, ३ वटा नेता भनेर निकै प्रचार गरियो । त्यो कसले गर्यो भन्ने तपाईंहरूले बुझिराख्नुभएको छ,’ उनले भने । उनले ती प्रचारहरू योजनाबद्ध रूपमा गरिएको संकेत गर्दै अब परिस्थिति फेरिएको दाबी गरे ।
उनका अनुसार अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको नाममा केही शक्तिहरूले भ्रष्टाचारविरुद्ध लड्ने र भ्रष्टाचारीको संरक्षण गर्ने सबैलाई एउटै ठान्ने भ्रम सिर्जना गर्न खोजेका थिए । ‘सत्ता पक्षमा हुने पनि उस्तै, प्रतिपक्षमा हुने पनि उस्तै भनेर युवाहरूलाई भ्रममा पार्ने कसरत भयो,’ उनले भने, ‘तर, अहिले त्यो भ्रम क्रमशः हट्दै गएको छ ।’
प्रचण्डले विशेषगरी ‘जेनजी आन्दोलन’को सन्दर्भ उठाउँदै त्यसमा सहभागी पवित्र भावनाका युवाहरूले अहिले आफ्नो पार्टीको धारणा र मुद्दा बुझिसकेको दाबी गरे । उनले देशको रूपान्तरण, सुशासन र सामाजिक न्यायका मुद्दामा नेकपा स्पष्ट अडानका साथ उभिएकाले युवाहरूको आकर्षण बढ्दै गएको दाबी गरे ।
उनले पार्टीप्रति बढ्दो जनसमर्थनको उदाहरण दिँदै हजारौँको सङ्ख्यामा युवाहरू नेकपामा प्रवेश गरिरहेको जिकिर गरे । ‘हाम्रो विचार, हाम्रो मुद्दा र हाम्रो अभिभावक पार्टी भनेर युवाहरूले विश्वास गर्न थालेका छन्,’ उनले भने ।
सम्बोधनका क्रममा उनले आगामी राजनीतिक यात्रामा नयाँ ऊर्जा, नयाँ नेतृत्व र स्पष्ट नीति आवश्यक रहेको दोहोर्याए । उनले पार्टीलाई वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र युवामुखी कार्यक्रममार्फत अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
























