मोरङ–१ : निर्णायक अभियानमा घनश्याम खतिवडा, राजनीतिक निरन्तरता र विरासतको सवाल

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २८, बुधबार १४:२६

विराटनगर । मोरङ क्षेत्र नम्बर १ यतिबेला चुनावी माहोलले तातेको छ । तर, यो प्रतिस्पर्धाको केन्द्रमा एकजना पुराना, अनुभवी र संघर्षशील नेता छन्— नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडा ।

चौथो पटक चुनावी मैदानमा उत्रिएका खतिवडाले यसपटकको प्रतिस्पर्धालाई निर्वाचनको रूपमा नभई आफ्नो राजनीतिक जीवनको निर्णायक घडीका रूपमा प्रस्तुत गरेका छन् । घरदैलो अभियानलाई तीव्र बनाउँदै उनी मतदाताको घर–घरमा पुगिरहेका छन् । सुझाव संकलन गरिरहेका छन् र आफूले सुरु गरेका योजनाहरू पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याइरहेका छन् ।

माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि खतिवडाले क्षेत्रकेन्द्रित कार्यक्रमलाई गति दिएका हुन् । क्षेत्रीय चुनावी कमाण्डर डिल्ली शर्मा अधिकारीका अनुसार पहिलो चरणको घरदैलो कार्यक्रम माघ २४ गते सम्पन्न भइसकेको छ । अहिले दोस्रो चरणको अभियान चलिरहेको छ ।

क्षेत्रीय पार्टी कमिटीले तय गरेको तालिकाअनुसार टोलटोलमा भेटघाट, मतदातासँग प्रत्यक्ष संवाद र सुझाव संकलनको काम भइरहेको छ । स्थानीय स्तरबाट आएका सुझावका आधारमा उम्मेदवारको प्रतिबद्धता पत्रलाई अन्तिम रूप दिने तयारी भइरहेको अधिकारीले जानकारी दिए ।

यसपटक खतिवडाले युवापुस्तासँगको संवादलाई पनि प्राथमिकता दिएका छन् । ‘जेनजी’ भनेर चिनिने नयाँ मतदातासँग घरदैलोका क्रममा छलफल र अन्तरक्रिया गरिरहेका छन् । रोजगारी, शिक्षा, उद्यमशीलता र स्थानीय विकासका सवालमा युवाहरूले राखेका अपेक्षालाई प्रतिबद्धता पत्रमा समेट्ने तयारी भइरहेको खतिवडा बताउँछन् ।

मोरङ–१ को भूगोलसँग परिचित र लामो समयदेखि सक्रिय रहँदै आएका कारण खतिवडाको घरदैलो प्रभावकारी देखिएको एमालेको दाबी छ । उनी २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बूसँग ४३० मतान्तरले पराजित भएका थिए । त्यसअघि २०७४ मा भने वामगठबन्धनको समर्थनमा उनले लिम्बूलाई ६ हजार ८८ मतान्तरले हराएका थिए । २०७० मा लिम्बू विजयी हुँदा खतिवडा दोस्रो स्थानमा थिए ।

राजनीतिक जीवनमा आर्थिक लाभभन्दा बढी त्यागको कथा बोकेका नेताका रूपमा खतिवडा प्रस्तुत हुन्छन् । राजनीतिमा लागेर १७ कट्ठा आफ्नो पुर्ख्यौली सम्पत्तिबापतको जग्गा बिक्री गरेको उनी सुनाउँछन् ।

परिवारका अनुसार २०७० को निर्वाचनमा ७ कट्ठा र २०७४ को निर्वाचनमा १० कट्ठा जग्गा बेचेर उनले चुनावी खर्च जुटाएका थिए । यो प्रसंग सुनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नै आश्चर्यचकित बनेका थिए । त्यसपछि ओलीले बाँकी सम्पत्ति सुरक्षित गर्न सुझाव दिएका थिए ।

खतिवडाको राजनीतिक यात्रा शिक्षक जीवनबाट सुरु भएको हो । २०३८ देखि २०४२ सालसम्म मोरङको बुद्ध माविमा अध्यापन गर्दा उनको मासिक तलब ५ सय रुपैयाँ थियो । स्थायी जागिरको सुरक्षाबीच पनि उनले पूर्णकालीन राजनीतिमा लाग्ने निर्णय गरे । राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिए ।

एमाले कोशी प्रदेश अध्यक्षसमेत रहेका खतिवडाका लागि यसपटकको चुनाव भावनात्मक रूपमा पनि महत्वपूर्ण छ । उनी सार्वजनिक रूपमा भन्छन्, ‘मैले सुरु गरेका अधुरा योजनाहरू पूरा गर्न यो मेरो अन्तिम प्रतिस्पर्धा हो । अर्को पटक म उठ्ने छैन ।’ यही अभिव्यक्तिलाई एमालेले चुनावी अभियानको विशेष सन्देश बनाएको छ ।

मोरङ–१ भौगोलिक रूपमा तराई र पहाडको संगम क्षेत्र हो । उर्लाबारी, मधुमल्ला, लेटाङ र केराबारी बजार आसपासका सहरी तथा अर्धसहरी क्षेत्र एकातिर छन् भने मिक्लाजुङको रमिते, लेटाङको वारांगी, केराबारीको सिंहदेवी र पाटीगाउँजस्ता पहाडी बस्तीहरू अर्कोतिर पर्छन् । विविध भौगोलिक र सामाजिक संरचना भएको यस क्षेत्रमा विकास, पूर्वाधार, कृषि, पर्यटन र रोजगारी उम्मेदवारका मुख्य मुद्दा बनेका छन् ।

तर, उम्मेदवारबीचको प्रतिस्पर्धा सजिलो छैन । मोरङ–१ मा यसपटक १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख खड्ग फागो प्रतिस्पर्धामा छन् । विकासप्रेमी र जनस्तरमा भिजेका नेताका रूपमा परिचित फागोले कांग्रेसको आधारलाई मजबुत बनाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट पूर्वप्रदेशसभा सदस्य तथा जनयुद्धकालीन कमान्डर कुलप्रसाद साम्बा पनि मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपानेको उम्मेदवारीले ‘घण्टी’को प्रभाव कति पर्छ भन्ने चासो छ । श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन, राप्रपाका पूर्णबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी दिलकुमारी लावतीलगायतका उम्मेदवारले पनि मत विभाजनमा प्रभाव पार्ने आँकलन गरिएको छ ।

चुनावी इतिहास हेर्दा मोरङ–१ सधैँ प्रतिस्पर्धात्मक क्षेत्र रहँदै आएको छ । २०४९ मा तत्कालीन लेटाङ गाविस अध्यक्षमा खतिवडा निर्वाचित हुँदा कांग्रेसका डिगबहादुर लिम्बू पराजित भएका थिए । त्यसपछि प्रतिनिधिसभा निर्वाचनहरूमा खतिवडा र लिम्बूबीचको प्रतिस्पर्धा पटकपटक दोहोरिएको छ ।

यसपटकको चुनावमा खतिवडा पुराना अनुभव, त्यागको कथा र अधुरा योजनाहरू पूरा गर्ने प्रतिबद्धताका साथ मैदानमा छन् । घर–घर पुगेर मतदाताको हात समाउँदै, सुझाव सुन्दै र आफ्ना विगतका कामको लेखाजोखा प्रस्तुत गर्दै उनी निर्णायक जितको खोजीमा छन् ।

मोरङ–१ को यो प्रतिस्पर्धा दलहरूको शक्ति परीक्षण मात्रै नभएर लामो राजनीतिक यात्राको मूल्यांकन पनि हो । खतिवडाका लागि यो चुनाव राजनीतिक निरन्तरता र विरासतको सवालसँग जोडिएको छ । अब अनुभव र निरन्तरतालाई रोज्ने कि नयाँ विकल्पलाई अवसर दिने भन्ने निर्णय मतदाताको हातमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.