
बुटवल। आगामी प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा रहेका रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुलभ खरेलविरुद्ध सहकारी पीडितहरूले नाराबाजी गरेका छन्। मंगलबार दिउँसो बुटवल–११ को होराइजन चोकमा घरदैलो गरिरहेका खरेललाई लक्षित गरी सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले विरोध प्रदर्शन गरेका हुन्।
पीडितहरूले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘तिम्रो नेता खोइ? लिएर आऊ’, ‘हाम्रो पैसा कहिले फिर्ता हुन्छ?’ र ‘सिंहदरबार किन जलाएको?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। पीडितमध्येकी एक सोनु श्रेष्ठका अनुसार उम्मेदवार खरेल आफूहरूलाई देखेपछि नजिकैको एक रेस्टुरेन्टभित्र छिरेका थिए। पीडितहरूले एक घण्टासम्म कुर्दा पनि खरेल बाहिर ननिस्केपछि उनीहरू अर्को पटक पुनः प्रदर्शन गर्ने चेतावनी दिँदै फर्किएका थिए।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। यसमध्ये १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगानी भएको र २ करोड रुपैयाँ प्रक्रिया नपुर्याई रास्वपा सभापति रवि लामिछानेको नाममा ऋण लिइएको अभियोग छ। लामिछाने हालै मात्र रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन्।
यता, उम्मेदवार सुलभ खरेलले भने प्रदर्शनबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्। चुनावका बेला यस्ता घटनाहरू सामान्य भएको र यो विषय आफ्नो व्यक्तिगत नभएको उनले बताए। तीन वर्षदेखि संघर्ष गरिरहेका न्यून आय भएका बचतकर्ताहरूले भने आफ्नो रगत पसिनाको कमाइ फिर्ता नभएसम्म नेताहरूलाई प्रश्न सोधिरहने अडान लिएका छन्।

























