
विराटनगर । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जीवन घिमिरेले मतदाताबाट संकलित सुझावलाई नै आफ्नो मुख्य एजेण्डा बनाएर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले पहिलो चरणको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका छन् । त्यस क्रममा प्राप्त सुझाव र गुनासालाई समेटेर औपचारिक प्रतिबद्धता पत्र ल्याइने उनले बताए ।
प्रेस चौतारी मोरङले बुधबार विराटनगरमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै प्रतिबद्धता सार्वजनिक गरिने जानकारी दिए । उनले घरदैलो अभियानका क्रममा मतदाताले आफ्ना मुद्दाहरू स्पष्ट रूपमा राखेको बताउँदै ती विषयलाई केन्द्रमा राखेर आगामी योजना सार्वजनिक गरिने बताए ।
घिमिरेका अनुसार मोरङ–४ का मतदाताले विशेषगरी सडक स्तरोन्नति, बर्सेनि दोहोरिने डुबान समस्या, सहज र गुणस्तरीय स्वास्थ्य उपचार सेवा, कृषकका उत्पादनको मूल्य र बजार व्यवस्थापनजस्ता विषयलाई प्रमुख एजेण्डा बनाएका छन् । ‘जनताले धेरै ठूलो अपेक्षा राखेका छन् । विगतमा पटकपटक जितेर गएकाहरूले अपेक्षाअनुसार काम नगरेको गुनासो व्यापक रूपमा आएको छ,’ घिमिरेले भने, ‘अब जनताको सुझावलाई कागजमा मात्रै होइन । व्यवहारमा उतार्ने प्रतिबद्धता गरेको छु ।’
उनले पहिलो चरणको घरदैलो कार्यक्रम पार्टी सदस्यहरूलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको जानकारी दिँदै यसले पार्टी संरचना र कार्यकर्तालाई थप चलायमान बनाएको बताए । ‘पार्टी सदस्यमार्फत घरघरमा पुग्ने काम भयो । यसले संगठनलाई पनि सक्रिय बनाएको छ । जनतासँग प्रत्यक्ष संवादको अवसर दिएको छ,’ उनले भने ।
घिमिरेका अनुसार फागुन ४ गतेदेखि टोलसभा, कोणसभा र चुनावीसभा औपचारिक रूपमा सुरु गरिनेछ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार प्रचारप्रसारको समय खुला भएपछि अभियान थप सशक्त बनाइने उनले बताए । ‘मतदाता र कार्यकर्ता औपचारिक प्रचारको पर्खाइमा हुनुहुन्छ । फागुन ४ गतेदेखि मोरङ–४ मा एमालेको जनलहर व्यापक हुनेछ,’ उनले दाबी गरे ।
प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्तापछि गरिएको घरदैलो र मतदाता भेटघाट कार्यक्रममा अपेक्षाभन्दा धेरै सहभागिता पाइएको उनको भनाइ छ । उनले यसलाई जनतामा परिवर्तनको चाहना र नयाँ ढंगले काम गर्ने नेतृत्वप्रतिको विश्वासका रूपमा व्याख्या गरे ।
घिमिरे कोशी प्रदेश सरकारका संस्थापक सामाजिक विकास मन्त्री हुन् । उनले करिब ३ वर्ष मन्त्रालय सम्हाल्दा शिक्षा, स्वास्थ्य, खेलकुद, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपांगता भएका व्यक्तिका क्षेत्रमा विभिन्न कार्यक्रम अघि बढाएका थिए ।
विद्यालय पूर्वाधार सुदृढीकरण, सामुदायिक स्वास्थ्य सेवा विस्तार, प्रदेशस्तरीय खेलकुद संरचना विकास र सामाजिक सुरक्षा सम्बन्धी योजनाहरू कार्यान्वयनमा ल्याइएको उनले स्मरण गरे । उनका समर्थकहरू घिमिरेको मन्त्रीकालीन अनुभव र प्रशासनिक दक्षताले संघीय संसदमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्छन् ।
यद्यपि, विपक्षी दलहरूले विगतका कामको मूल्यांकन जनताले नै गर्ने बताउँदै प्रतिस्पर्धा कडा हुने संकेत गरेका छन् । मोरङ–४ भौगोलिक रूपमा विविध समस्या र थारु समुदायको बहुल क्षेत्र मानिन्छ । यहाँ सहरी र ग्रामीण दुवै क्षेत्र समेटिएकाले विकासका आवश्यकता पनि फरकफरक छन् ।
एकातिर आधारभूत पूर्वाधारको अभाव, अर्कोतर्फ कृषि उत्पादनमा निर्भर ठूलो जनसंख्या, बर्सेनि दोहोरिने बाढी डुबान र स्वास्थ्य सेवामा पहुँचको समस्या यहाँका दीर्घकालीन चुनौतीका रूपमा देखिन्छन् । यस्तो अवस्थामा ठोस योजना र कार्यान्वयन क्षमतायुक्त नेतृत्व खोजिरहेकका मतदाताले आफूलाई विजयी गराउने अपेक्षा घिमिरेले गरेका छन् ।
घिमिरे आफूले सार्वजनिक गर्न लागिएको प्रतिबद्धता पत्र चुनावी दस्तावेज नभई ५ बर्से कार्ययोजनाको आधार बन्ने दाबी गरेका छन् । ‘जनताको सुझावलाई प्राथमिकतामा राखेर क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्यदिशा दिनेछौं,’ उनले भने ।
फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा मोरङ–४ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । उम्मेदवारहरू आआफ्नो रणनीति र एजेण्डासहित मैदानमा उत्रिएका छन् ।
मतदाताको सुझावलाई केन्द्रमा राखेर प्रतिबद्धता पत्र ल्याउने घिमिरेको घोषणाले चुनावी प्रतिस्पर्धालाई कडा बनाउने अपेक्षा गरिएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसबाट गुरुराज घिमिरे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट अमनलाल मोदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सन्तोष राजवंशीलगायत उम्मेदवार छन् ।
उम्मेदवार बनेकामध्ये मोदी पूर्वसांसद हुन् । उनले उक्त क्षेत्रबाट यसअघि २ पटक चुनाव जितिसकेका छन् ।
























