
झापा । एक्सट्रिम सातौँ झापा गोल्डकपमा बिहीबार (आज) मछिन्द्र फुटबल क्लबले अन्तिम क्वाटरफाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजे नेपाली नागरिकहरूले मलेसियामा सञ्चालन गरेको क्लबले उत्कृष्ट लयमा रहेको ‘ए’ डिभिजन क्लब मछिन्द्रसँग सेमिफाइनल प्रवेशका लागि खेल्दै छ ।
जारी राष्ट्रिय लिगमा ६ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा रहेको मछिन्द्र झापाली प्रशिक्षक प्रवेश कटवालको प्रशिक्षण तथा सुजल श्रेष्ठको कप्तानीमा झापाली खेलाडीहरू देवेन्द्र तामाङ, पेमा तामाङ, प्रदीप बुढाथोकीसहित आज एन पेनाङविरुद्ध उत्रिँदै छन् ।
एन पेनाङबाट नेपाली यु २३ का सदस्य लहान सुब्बा पतङवासहित, मदन स्याङतेन, योगेश लिम्बू टिममा छन् । मलेसियामा काम गर्दै एन पेनाङबाट खेल्ने उनीहरूमध्ये ताप्लेजुङका लहान सुब्बा गत वर्ष राष्ट्रिय टिममा छनोट भएका हुन् ।
एन पेनाङका बाँकी खेलाडी मलेसियनसहित भारतीय, ब्राजिलियन, उज्बेकिस्तानबाट अनुबन्ध गरिएको जनाइएको छ । टिमको प्रशिक्षकलगायत अफिसियल भने नेपाली नै रहेका छन् ।
दुई पटकको सहिद स्मारक लिग विजेता मछिन्द्र जारी राष्ट्रिय लिगमा पनि दाबेदार देखिएको छ । एन पेनाङ मलेसियामा हुने एनएफए कप, हिमालयन गोल्डकप र एन पेनाङ गोल्डकपको च्याम्पियन हो ।



















