
रामेछाप। मन्थली नगरपालिका–६ बेनीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा परेका तीन जना यात्रु अझै फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय रामेछापले बेपत्ताहरूको हुलियासहितको फोटो सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न सबैमा आग्रह गरेको छ।
प्रहरी र पारिवारिक स्रोतका अनुसार मन्थली नगरपालिका–२ पिल्लेका ९ वर्षीय क्रिशन तामाङ, लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार बेपत्ता रहेका हुन्। बेपत्ता क्रिशन सोही दुर्घटनामा ज्यान गुमाएकी तारा तामाङका छोरा हुन्। नदीमा सुरक्षाकर्मी र स्थानीयले निरन्तर खोजी गरिरहे पनि हालसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
काठमाडौंबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस गत मंगलबार बिहान करिब १०ः४० बजे बेनीघाट सडकबाट तामाकोशी नदीमा खसेको थियो। दुर्घटनालगत्तै चालकसहित २० जनालाई उद्धार गरी मन्थली अस्पताल लगिएकोमा चिकित्सकले १२ जनालाई मृत घोषणा गरेका थिए।
अहिले अन्य घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताएको छ। तामाकोशीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई कोही कसैको फेला परेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत अनुरोध गरिएको छ।

























