
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनीहरूले उच्च अदालतमा निवेदन दिएका हुन्।
रायमाझी र झाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार आफूहरू कसुरदार होइन भन्ने प्रमाणित हुने मनासिब आधार रहेको दाबी गर्दै थुनामुक्त हुन माग गरेका छन्। सो निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा पेसी तोकिएको छ।
यसअघि जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उनीहरूलाई थुनामुक्त गर्न नमिल्ने आदेश दिएको थियो। रायमाझीले पुस २५ गते र झाले पुस ११ गते जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। दफा ७१ (२) मा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि अभियुक्त कसुरदार होइन भन्ने आधार देखिएमा अदालतले थुनाबाट छाड्ने आदेश दिन सक्ने व्यवस्था छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० असार १ गते जिल्ला अदालत काठमाडौँले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्लाको सो आदेशलाई उच्च अदालत पाटन र सर्वोच्च अदालतले समेत सदर गरिसकेका छन्। अहिले रायमाझी र झा फेरि नयाँ आधार देखाउँदै थुनामुक्त हुने प्रयासमा लागेका हुन्।

























