
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा मुछिएका बिचौलिया खेमप्रसाद सुवेदीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।
सुवेदीले अदालतमा उपस्थित हुन निवेदन दिएर आजै आत्मसमर्पण गरेका थिए । विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसँगको मिलेमतोमा भिजिट भिसा मिलाइदिने नाममा लाखौँ रुपैयाँ असुली गरेको र उक्त अवैध रकमलाई सम्पत्ति शुद्धीकरणमा सहयोग गरेको सुवेदीमाथि आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ७९ लाख ८० हजार रुपैयाँ बिगो र सम्पत्ति शुद्धीकरणतर्फ १ करोड ३ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
यसअघि मुख्य अभियुक्त मानिएका सहसचिव तीर्थराज भट्टराई ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् । अनुसन्धानका क्रममा सुवेदीले भट्टराईसँग जोडिएकी कविता पौडेलको नाममा भक्तपुरको दधिकोटमा जग्गा पास गराइदिएर भ्रष्टाचारको रकम वैध बनाउन भूमिका खेलेको भेटिएको अख्तियारको दाबी छ ।

























