‘पार्टी जोगाउन बाबुरामलाई कारबाही गर्नुपरेको थियो’

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १२:५२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वको लावाङमा आयोजित कार्यक्रममा विगतका राजनीतिक उतारचढाव सम्झिएका छन् ।

उनले यही गाउँमा बसेर पार्टीभित्र अनुशासन उल्लंघन गरेको गरेको आरोपमा तत्कालीन नेता बाबुराम भट्टराईमाथि कारबाही गरिएको प्रसंग दोहोर्याए । लावाङ पुगेर सम्बोधन गर्दै प्रचण्डले जनयुद्ध सुरु भएको ३० वर्ष पूरा भएर ३१ वर्ष लागेको उल्लेख गरे ।

उनले लावाङलाई जनयुद्धको तयारीदेखि सञ्चालनसम्म महत्त्वपूर्ण आधारभूमि भएको बताए । ‘हामीले यही गाउँमा तपाईंहरुकै सुरक्षामा बसेर महत्वपूर्ण बैठकहरू गरेका थियौँ । तपाईंहरुले खानपान र बसोबासको व्यवस्था गरेर सहयोग गर्नु भएको थियो । लावाङप्रति हामी सधैं ऋणी छौँ,’ उनले भने ।

उनका अनुसार त्यस समय पार्टीभित्र गम्भीर समस्या देखिएको थियो । केही नेताले पार्टी विधि र अनुशासनविपरीत गतिविधि गरेको भन्दै कारबाहीको निर्णय गर्नु परेको उनले बताए । ‘पार्टीलाई गलत प्रवृत्तिबाट जोगाउन र शुद्ध बनाउन त्यतिबेलाका वरिष्ठ नेता बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्ने अवस्था सिर्जना भएको थियो,’ प्रचण्डले भने ।

उनी हाल रुकुम पूर्वबाट उम्मेदवार बनेर चुनावी अभियानमा रहेका छन् । लावाङपछि चुनवाङसहित रोल्पा, जाजरकोट, सल्यानलगायत तत्कालीन केन्द्रीय आधार इलाकामा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी उनले दिए । ‘प्रत्येक गाउँ र पहाडमा जनयुद्धका ठूला कीर्तिमान लुकेका छन्,’ उनले भने ।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि महिला, दलित, आदिवासी, थारु र मुस्लिम समुदायको राज्यसत्तामा प्रतिनिधित्व सुनिश्चित भएको दाबीसमेत गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.