
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन पर्यवेक्षण समिति नेपालले देशभर ७ सय पर्यवेक्षक परिचालन गरेको छ। निर्वाचन प्रक्रिया र आचारसंहिता पालनाको अवस्थालाई नजिकबाट नियाल्न समितिले ७७ वटै जिल्लामा आफ्नो टोली खटाएको हो।
निर्वाचन ऐन र कानुनको कार्यान्वयनबारे सूक्ष्म अध्ययन गर्न समितिले माघ २४ र २५ गते नै पर्यवेक्षकहरूलाई विशेष प्रशिक्षण दिएको थियो। हाल कार्यक्षेत्रमा खटिएका ४० जना दीर्घकालीन पर्यवेक्षकहरूले निर्वाचनका सम्पूर्ण तयारी र गतिविधिलाई नजिकबाट अनुगमन गरिरहेका छन्।
पर्यवेक्षकहरूले विशेष गरी राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र सार्वजनिक पदमा रहेका व्यक्तिहरूले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको विषयमा निगरानी गर्नेछन्। यसका साथै निर्वाचन प्रचारप्रसारका क्रममा हुने खर्चको स्रोत र मतदातालाई प्रभाव पार्न सक्ने गतिविधिमाथि पनि कडा नजर राखिएको समितिले जनाएको छ।
समितिका अध्यक्ष श्रीकृष्ण सुवेदीले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र मितव्ययी बनाउन सबै सरोकारवालासँग सकारात्मक सहयोगको अपिल गरेका छन्। निर्वाचन आयोगले यस पटकको चुनाव पर्यवेक्षणका लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुमति दिएको छ।

























