
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले वर्तमान संविधानले मुलुकलाई सही निकास दिन नसक्ने दाबी गर्दै उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्नुपर्ने माग अघि सारेको हो।
जसपाले आफ्नो घोषणापत्रमा शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा व्यापक सुधारको आवश्यकता औँल्याएको छ। वर्तमान व्यवस्थाले केवल ‘प्रशासनिक सङ्घीयता’को मात्रै पक्षपोषण गरेको भन्दै पार्टीले राष्ट्रिय पहिचानसहितको सङ्घीयता र प्रादेशिक संरचना निर्माण हुनुपर्ने बताएको छ। साथै, संवैधानिक निकायलाई बलियो बनाउन र भ्रष्टाचार नियन्त्रणका लागि ‘जनलोकपाल’ जस्ता निकाय गठन गर्नुपर्ने प्रस्ताव पनि घोषणापत्रमा उल्लेख छ।
पार्टीले सुशासनका क्षेत्रमा कडा नीति लिने घोषणा गर्दै वि.सं. २०४७ देखि हालसम्मका प्रधानमन्त्री, मन्त्री, सांसद र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता जनाएको छ। भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिँदै जसपाले सरकारी सेवा र सुविधामा पारदर्शिता कायम गर्ने बताएको छ।
शिक्षा र रोजगारीका सवालमा जसपाले शिशु कक्षादेखि उच्च शिक्षासम्म एकरूपता ल्याउने र सार्वजनिक शिक्षालाई पूर्णतः निःशुल्क, प्रविधिमैत्री र सिपमूलक बनाउने लक्ष्य राखेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ‘फ्री भिसा र फ्री टिकट’को नीति पूर्ण रूपमा लागू गर्ने र आगामी ५ वर्षभित्र गरिबीको रेखामुनि रहेको जनसंख्यालाई १० प्रतिशतमा झार्ने जसपाको संकल्प छ। कृषि क्षेत्रमा वैज्ञानिक भूमिसुधार र चक्लाबन्दीमार्फत आधुनिकीकरण गर्ने विषयलाई पनि घोषणापत्रमा प्राथमिकता दिइएको छ।
























