
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ। घोषणापत्रको अन्तिम तयारी र यसका मुख्य विषयवस्तुबारे छलफल गर्न शुक्रबार बिहान धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बसेको थियो।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा घोषणापत्रमा समेटिने राजनीतिक, आर्थिक र सामाजिक एजेण्डाहरूबारे विस्तृत छलफल भएको छ। राप्रपाले यस पटकको निर्वाचनमा ‘भ्रष्टाचारको अन्त्य’ र ‘राजसंस्थाको पुनःस्थापना’लाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएको छ। साथै, हिन्दु राष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई पनि घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरिएको बुझिएको छ।
भ्रष्टाचार विरोधी अभियानलाई सशक्त बनाउने र सरकारी संयन्त्रमा आमूल परिवर्तन ल्याउने योजना राप्रपाले अघि सारेको छ। शनिबार एक विशेष कार्यक्रमका बीच पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्ने तालिका रहेको छ।
























