
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका विभिन्न जिल्लाहरूको स्थलगत भ्रमण र निरीक्षणपछि निर्वाचनको वातावरण उत्साहजनक र शान्तिपूर्ण रहेको बताएकी छन्। पूर्वी तराई र पहाडी जिल्लाहरूको भ्रमण सकेर फर्किएकी प्रधानमन्त्रीले निर्वाचन तयारीबारे सन्तोष व्यक्त गरेकी हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्रीले तराईमा सुरक्षा संवेदनशीलता र पहाडमा भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गरिन्। उनले नाम्चे, सल्लेरी र भोजपुर जस्ता दुर्गम क्षेत्रमा सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँग छलफल गर्दै निर्वाचनका लागि अनुकूल वातावरण बनेको दाबी गरिन्। तराईका केही स्थानमा जनसंख्याको चापका कारण बुथ कब्जा र सामान्य हुलदङ्गा हुनसक्ने सम्भावना रहे पनि सुरक्षा स्थिति पूर्णतः नियन्त्रणमा रहेको उनले बताइन्।
हिमाली र पहाडी भेगमा ढुवानी र निरीक्षणमा केही कठिनाइ भए पनि त्यहाँको शान्तिपूर्ण अवस्थाले निर्वाचन स्वच्छ हुने विश्वास दिलाएको उनको भनाइ छ। प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको निर्वाचनका लागि मौसम बाधक नहुने स्पष्ट पारिन्। निर्वाचन आयोग र गृह मन्त्रालयले मौसमविद्हरूसँग समन्वय गरिरहेको र फागुनको तेस्रो हप्तासम्म हिमपातको जोखिम कम रहने प्रक्षेपण गरिएको उनले जानकारी दिइन्।

























