‘हिजो बन्दुक बोक्यौं, अब झन्डा बोक्छौं’

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १८:५३

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो व्यवस्था फेर्न बन्दुक बोकेको स्मरण गर्दै अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्ने बताएका छन् ।

जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वमा आयोजित जनभेटघाट तथा सहिद परिवार सम्मान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले क्रान्तिको स्वरूप फेरिएको उल्लेख गरे । उनले अबको संघर्ष उत्पादन वृद्धि, आर्थिक आत्मनिर्भरता, भ्रष्टाचारविरुद्धको अभियान र पारदर्शिताका लागि हुने बताए ।

‘युद्ध जारी छ । तर, अब त्यो आर्थिक युद्ध हुनेछ,’ उनले भने, ‘उत्पादन र समृद्धिको नयाँ क्रान्तिको झण्डा बोकेर फेरि रुकुम पूर्व आएको छु ।’ प्रचण्डले जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सञ्चालन हुने गरी पक्की सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा क्षेत्रमा ‘हब स्कुल’ अवधारणा लागू गरी आवासीय सुविधा र दक्ष शिक्षकसहितका विद्यालय स्थापना गरेर हिमाली भेगको शैक्षिक गुणस्तर सुधार गर्ने योजना सुनाए । रुकुमको फलाम खानी उत्खनन, जडीबुटी प्रशोधन केन्द्र स्थापना र स्थानीय उत्पादनको बजारीकरणमा जोड दिने उनको भनाइ थियो ।

मगर समुदायको पहिचान र स्वायत्तताको विषय संविधानको मर्मअनुसार सम्बोधन गर्दै मगर क्लष्टरलाई स्वायत्त क्षेत्र घोषणा गर्न पहल गर्ने उनले बताए । चुनवाङ बैठकस्थल, छापामार पदमार्ग र जनयुद्धका स्मृतिस्थललाई संग्राहालय तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उल्लेख गरे ।

लुम्बिनी प्रदेश सरकारद्वारा घोषित अग्र्यानिक जिल्लासम्बन्धी आवश्यक कानुन निर्माण, प्रमाणीकरण र बजार सुनिश्चित गरी टिमुर, स्याउ, सुन्तला, कागती लगायतका उत्पादनलाई प्रिमियम ब्राण्डका रूपमा स्थापित गरिने उनको प्रतिबद्धता थियो । उनले आगामी चुनाव जनयुद्धका उपलब्धि रक्षा गर्ने र इतिहास उल्ट्याउन खोज्ने शक्तिबीचको प्रतिस्पर्धा भएको दाबी गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.