
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ गृहमन्त्रीसहित ४ वटै सुरक्षा निकायका प्रमुखहरूसँगको भेटमा उनले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरे । राष्ट्रपतिले लोकतन्त्रमा निर्वाचन जनताको अभिमत व्यक्त गर्ने मुख्य माध्यम भएकाले यसको विश्वसनीयता कायम राख्नु राज्यको दायित्व भएको बताए ।
निर्वाचन अवधिमा सम्भावित सुरक्षा चुनौती, अफवाह र अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले उल्लेख गरे । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए । सुरक्षा निकायले निर्वाचन सुरक्षा तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

























