‘देश हाँक्न ५ बर्से ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार’

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १९:२२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले देशको नेतृत्व गर्न कांग्रेस पूर्ण रूपमा तयार रहेको दाबी गरेका छन् । सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसले ५ वर्षसम्म गर्ने कामको विस्तृत अध्ययनसहित ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार गरिसकेको बताए ।

उनले नयाँ पार्टी खोज्ने मतदातालाई लक्षित गर्दै यदि कसैले नयाँ नेतृत्व र नयाँ सोचलाई भोट दिन चाहन्छ भने त्यो नेपाली कांग्रेस नै भएको उल्लेख गरे । उनका अनुसार कांग्रेसले आफ्नो ऐतिहासिक विरासतलाई जोगाउँदै नयाँ नीति, नयाँ कार्यदिशा र ऊर्जावान नेतृत्वसहित अघि बढिरहेको छ ।

थापाले देशको भविष्य युवाहरूको काँधमा रहेको बताउँदै विशेष गरी जेनजी पुस्ताको सक्रियता देखेर आफू उत्साहित भएको बताए । मधेश प्रदेशको सर्लाही लगायत जिल्लामा शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले यी समस्या समाधानका लागि कांग्रेसले स्पष्ट योजना बनाइरहेको जानकारी दिए ।

उनले सर्लाहीका मुद्दाहरूलाई कांग्रेसको आगामी घोषणापत्रमा समेटिने तयारी भइरहेको पनि बताए । ‘देशको नेतृत्व गर्ने अवसर पाए ५ वर्षभित्र परिणाम देखिने गरी काम गर्नेछौं । त्यसका लागि मतदाताको समर्थन आवश्यक छ । देश हाँक्न ५ बर्से ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ,’ थापाले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.