
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले साम्यवादी र समाजवादी दर्शनहरू विश्वभर असफल भइसकेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समाजवाद र साम्यवादको परम्परागत दार्शनिक अवधारणाले अब काम नगर्ने जिकिर गरे।
विश्वका ठूला राष्ट्रहरू समेत अहिले संवर्द्धनवादतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले नेपाललाई बनाउन र बचाउन पनि यही विचारधारा उपयुक्त रहेको बताए। “अहिले संसारका शक्तिशाली देशहरू मेरो परम्परा र मेरो राष्ट्र प्रथम भन्ने मान्यताबाट प्रेरित छन्,” उनले भने, “जगबिनाको छतले राष्ट्र र समाजलाई क्षति पुर्याउँछ। त्यसैले निरन्तरतासहितको परिवर्तन र दिगो विकासका लागि संवर्द्धनवाद नै अबको साझा बाटो हो।”
अध्यक्ष लिङ्देनले विकास र परिवर्तनका नाममा आफ्ना मौलिक जगहरू भत्काउन नहुनेमा जोड दिए। संवर्द्धनवादलाई आफ्नो पार्टीले मुख्य वैचारिक आधार बनाएको जानकारी दिँदै उनले यसले नै मुलुकको हित गर्ने बताए।
सोही अवसरमा उनले गैरआवासीय नेपालीहरूको सन्दर्भमा पनि आफ्नो धारणा राखे। लिङ्देनले गैरआवासीय नेपालीहरूलाई वंशजका आधारमा नागरिकता दिन राज्यले हिचकिचाउनु नपर्ने धारणा व्यक्त गरे।
























