
काठमाडौं। नेकपा (एमाले) का आम निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले ‘जेनजी’ पुस्ताले उठाएका जायज मागहरूको आफ्नो पार्टीले विरोध नगरेको स्पष्ट पारेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले एमालेले केवल आन्दोलनका क्रममा भएका हिंसा र आगजनीको मात्र विरोध गरेको बताए।
शाहीले सुशासन, भ्रष्टाचार न्यूनीकरण र प्रभावकारी सेवा प्रवाहका लागि नयाँ पुस्ताले उठाएका एजेन्डाहरू एमालेकै प्राथमिकताका विषय भएको दाबी गरे। ‘जेनजी पुस्ताले उठाएका रूपान्तरणका मागमा एमालेको विरोध छ भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु,’ उनले भने, ‘सुशासनका कुरा त हामीले पहिलेदेखि नै सुरु गरिसकेका थियौँ।’
यद्यपि, आन्दोलनको नाममा हुने विध्वंसात्मक गतिविधिप्रति भने पार्टीको गम्भीर आपत्ति रहेको उनले प्रष्ट पारे। शाहीले एमालेलाई कुनै पनि बहानामा हुने हिंसा, आगजनी र दण्डहीनता स्वीकार्य नहुने बताए।
राज्यको सम्पत्ति नष्ट गर्ने र जेल तोड्ने जस्ता अराजक क्रियाकलापको एमालेले सधैँ विरोध गर्ने उनको भनाइ थियो। ‘सिंहदरबार जलाउने, प्रतिनिधिसभा भत्काउने वा नख्खु जेल तोड्ने जस्ता मुलुकलाई नै क्षति पुर्याउने कुराको मात्र हामीले विरोध गरेका हौँ,’ शाहीले अगाडि थपे।
























