
झापा । नेकपा (एमाले) ले झापा क्षेत्र नम्बर ५ का उम्मेदवार तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्नुपर्ने ३० वटा कारण सार्वजनिक गरेको छ। पार्टीको क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि स्थानीय विकासका मुद्दाहरूलाई प्राथमिकताका साथ समेटिएको छ।
‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षकको अपिलमा देशमा व्याप्त त्रासको वातावरण अन्त्य गरी शान्ति सुरक्षाको ग्यारेन्टी गर्न र जनताको खस्किएको मनोबल उच्च बनाउन ओलीको विजय आवश्यक रहेको उल्लेख छ। झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरू सम्पन्न गर्न पनि उनलाई नै मतदान गर्न आग्रह गरिएको छ।
एमालेले युवाहरूलाई प्राविधिक शिक्षा र स्वरोजगारसँग जोड्न, सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन ओलीको नेतृत्व अपरिहार्य रहेको दाबी गरेको छ। निर्माणाधीन एसियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी र हुलाकी राजमार्गका बाँकी काम पुरा गर्ने जिम्मेवारी पनि ओलीकै काँधमा रहेको अपिलमा जनाइएको छ।
विशेष गरी दमक-रवि-चिसापानी सडक निर्माण, नेपाल-चीन मैत्री औद्योगिक पार्कको पूर्णता, र दमक, गौरादह तथा गौरीगञ्ज बजारलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने एजेन्डालाई एमालेले मुख्य रूपमा उठाएको छ। सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि पनि ओलीलाई निर्वाचित गर्नुपर्ने एमालेको तर्क छ।
एमाले केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार रतुवा, मावा र कमल खोलाको तटबन्धन तथा स्थानीय अस्पतालहरूको सेवा विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ। उनले केपी ओली र झापा ५ एकअर्काका परिपूरक भएको बताउँदै मतदातासँगको पुरानो सम्बन्धका कारण चुनावी नतिजा सहजै आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे।
























