
काठमाडौँ। यस वर्षको प्रेम दिवस (भ्यालेन्टाइन्स डे) सप्ताहमा नेपालमा करिब ७ करोड रुपैयाँ बराबरको गुलाफको फूलको कारोबार भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार फेब्रुअरी ७ देखि १४ सम्म चलेको प्रेम दिवस सप्ताहमा करिब ५ लाख स्टिम गुलाफ खपत भएको छ । एसोसिएसनका अनुसार बजारमा एउटा गुलाफको औसत मूल्य १ सय ४० रुपैयाँसम्म तोकिएको थियो । यही मूल्यका आधारमा यस वर्षको प्रेम दिवस सप्ताहभरि कुल ७ करोड रुपैयाँको आर्थिक कारोबार भएको देखिएको हो ।
नेपालमा गुलाफको व्यावसायिक उत्पादन मागको तुलनामा निकै कम हुने भएकाले आयातको हिस्सा ठूलो रहेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार आन्तरिक उत्पादनले बजारको करिब ३० प्रतिशत माग मात्र धान्ने गरेको छ । बाँकी ७० प्रतिशत माग पूरा गर्न भारत लगायतका देशहरूबाट गुलाफ आयात हुँदै आएको छ ।
स्वदेशी उत्पादन वृद्धि हुन नसक्दा प्रेम दिवस जस्ता विशेष अवसरमा ठुलो रकम फूल आयातका लागि बाहिरिने गरेको छ ।

























